हरियाली अभियानमा चलचित्र विकास बोर्ड : २६औँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण, प्रकृति संरक्षणको सन्देश

हरियाली अभियानमा चलचित्र विकास बोर्ड : २६औँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण, प्रकृति संरक्षणको सन्देश

काठमाडौं, असार १३ । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा वातावरण संरक्षण र हरित नेपालको सन्देश प्रवाह गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ। शनिबार बिहान ७ः३० बजे काठमाडौंको विश्वरूप मृगस्थली, पशुपति क्षेत्रमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी प्रकृतिप्रति जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई जोड दिन वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको हो। कार्यक्रममा चलचित्रकर्मी, सञ्चारकर्मी, सरकारी प्रतिनिधि, सामाजिक अभियन्ता तथा वातावरणप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यस अभियानमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, नेपालले सहकार्य गरेको छ। आयोजकले वातावरण संरक्षणमा योगदान पुर्‍याउन इच्छुक सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
वृक्षारोपण केवल एउटा कार्यक्रम नभई आगामी पुस्ताका लागि स्वच्छ वातावरण, हरियाली र दिगो भविष्य निर्माण गर्ने साझा प्रतिबद्धता भएको आयोजकको भनाइ छ। एउटा बिरुवाले अक्सिजन, स्वच्छ हावा, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रम विवरण
मिति: २०८३ असार १३ गते, शनिबार
समय: बिहान ७ः३० बजे
स्थान: विश्वरूप मृगस्थली, पशुपति, काठमाडौं (गुहेश्वरी मन्दिर नजिक)