नेपालमा हरित ऊर्जा युगको नयाँ सुरुवात: बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ
प्यूठान, जुन २०२६ — नेपालको स्वच्छ ऊर्जा भविष्यतर्फको यात्रामा ऐतिहासिक उपलब्धि हासिल गर्दै Butwal Power Company Limited(BPC) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत आयोजना परिसरमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजनाको औपचारिक शुभारम्भ गरेको छ।
बेलायत सरकार र World Bank को सहयोगमा सञ्चालनमा आएको यो परियोजनाले नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोग र सम्भावनाको अध्ययन गर्ने महत्वपूर्ण आधार तयार गरेको छ। परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन (Electrolysis) प्रक्रियामार्फत शून्य-कार्बन हरित हाइड्रोजन उत्पादन गर्नेछ।

विशेषज्ञहरूका अनुसार हरित हाइड्रोजन भविष्यको स्वच्छ ऊर्जा स्रोतका रूपमा विश्वभर महत्वका साथ हेरिएको छ। यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणमा यसको प्रयोगले कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
बीपीसीद्वारा स्थापित पाइलट प्लान्टमा ५० किलोवाट क्षमताको आधुनिक क्षारीय (Alkaline) इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ, जसले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्न सक्षम छ। उत्पादित हाइड्रोजनलाई उच्च चापमा सुरक्षित रूपमा भण्डारण गरी विभिन्न प्रयोग तथा अनुसन्धानका लागि उपयोग गरिनेछ।
उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, बेलायत सरकारको एफसीडीओ, विश्व बैंक, नेपाल विद्युत् प्राधिकरण तथा ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बीपीसीले यो परियोजनालाई नेपालको ऊर्जा क्षेत्रमा नवप्रवर्तन, अनुसन्धान र स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। यसबाट प्राप्त अनुभवले भविष्यमा हरित हाइड्रोजनको व्यावसायिक उत्पादन, सुरक्षा मापदण्ड, नीतिगत व्यवस्था तथा सम्भावित बजार विकासका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
प्रचुर जलविद्युत् सम्भावना भएको नेपालका लागि अतिरिक्त विद्युत्लाई हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु तथा औद्योगिक प्रयोगमा ल्याउने अवसर खुल्दै गएको विज्ञहरूको भनाइ छ। यसले ऊर्जा आत्मनिर्भरता, हरित औद्योगिकीकरण र जलवायु परिवर्तन न्यूनीकरणमा समेत सकारात्मक योगदान पुर्याउन सक्छ।
करिब छ दशकदेखि नेपालको ऊर्जा विकासमा योगदान दिँदै आएको बुटवल पावर कम्पनीले यो परियोजनामार्फत नेपाललाई स्वच्छ, दिगो र आधुनिक ऊर्जा प्रविधितर्फ अग्रसर गराउने नयाँ अध्यायको सुरुवात गरेको छ।
Photo/News Source : Media Solution Pvt. Ltd.



प्रतिकृया दिनुहोस्