क्रेनले छोयो विद्युत तार, करेन्ट लागेर भारतीय चालकको मृत्यु

क्रेनले छोयो विद्युत तार, करेन्ट लागेर भारतीय चालकको मृत्यु

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खोईरिया मेजरडाँडास्थित सिखर पास्ता प्रालिको कम्पाउण्डभित्र ट्रकमा जडित क्रेनले विद्युत तार छोएपछि करेन्ट लागेर एक भारतीय चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ग.१ क ६५४० नम्बरको ट्रकमा जडित क्रेन प्रयोग गरी पुराना गाडीहरू लोड गर्ने क्रममा नजिकै रहेको विद्युत तारमा क्रेन छुन पुगेपछि चालक भारत उत्तर प्रदेश राज्य बलरामपुर बसहवा थाना पचमेडहवा घर भएका २६ वर्षीय राहुल गुप्ता करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते गुप्तालाई तत्काल उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनापछि क्षेत्रमा केही समय त्रासको अवस्था सिर्जना भएको थियो ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।