“प्रहरीको दैलोमा आउने नागरिक निराश भएर फर्किनु हुँदैन” — आईजिपी कार्कीको मानवीय सन्देशले जित्यो मन

“प्रहरीको दैलोमा आउने नागरिक निराश भएर फर्किनु हुँदैन” — आईजिपी कार्कीको मानवीय सन्देशले जित्यो मन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की ले प्रहरी संगठनलाई केवल सुरक्षा दिने निकाय होइन, नागरिकको पीडा बुझ्ने संवेदनशील सेवामूलक संस्थाको रूपमा रूपान्तरण गर्नुपर्ने सशक्त सन्देश दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढमा नव-निर्मित “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” भवन उद्घाटन कार्यक्रममा बोल्दै आईजिपी कार्कीले भने—
“प्रहरीको दैलोमा आउने मानिस कुनै न कुनै पीडा बोकेर आउँछ, ऊ निराश भएर फर्किनु हुँदैन ।”

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालदेखि नागरिक तहसम्म सकारात्मक चर्चा पाएको छ । धेरैले यसलाई “मानवीय प्रहरी सेवातर्फको बलियो प्रतिबद्धता” का रूपमा लिएका छन् ।

आईजिपी कार्कीले प्रहरीको वास्तविक मूल्य भौतिक भवन, गाडी वा उपकरणले मात्र निर्धारण नहुने स्पष्ट पार्दै प्रहरीको व्यवहार, बोलीवचन र सेवाशैलीबाटै नागरिकले न्याय र भरोसाको अनुभूति गर्नुपर्ने बताए ।
उनले भने,
“हामी नागरिकका लागि काम गरिरहेका छौं भन्ने कुरा व्यवहारमै प्रमाणित हुनुपर्छ ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील वर्गको सुरक्षा र सम्मानलाई प्राथमिकतामा राख्दै निर्माण गरिएका सेवा केन्द्रहरूले पीडितलाई सुरक्षित, सहज र सम्मानजनक वातावरण दिने विश्वास पनि उनले व्यक्त गरे ।

त्यसैगरी, प्रहरी कर्मचारीको कार्य वातावरण सुधारप्रति पनि उनले गम्भीर ध्यानाकर्षण गराए ।
४० डिग्रीको गर्मीमा सडकमा ड्युटी गर्ने प्रहरीलाई समेत आधारभूत संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उनले प्रहरी पनि यही समाजका सदस्य भएको स्मरण गराए ।

प्रविधिमैत्री प्रहरी सेवातर्फ अघि बढ्दै गएको जानकारी दिँदै उनले Nepal Police App मार्फत घरबाटै उजुरी दर्ता गर्ने, गुनासोको प्रगति हेर्ने र भविष्यमा GPS सहितको Panic Mode प्रणालीमार्फत आपतकालीन सहायता माग गर्न सकिने व्यवस्था विकास भइरहेको जानकारी दिए ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


Photo: Nepal Police