साहसिक नागरिक सञ्जिता शाक्यलाई प्रहरी महानिरीक्षकद्वारा सम्मान
काठमाडौं, २४ वैशाख । अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणमा नागरिकको सक्रिय भूमिकालाई सम्मान गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले साहसी नागरिक सञ्जिता शाक्यलाई विशेष सम्मान प्रदान गर्नुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले काठमाडौं महानगरपालिका–२२ वटु निवासी तथा नैना एण्ड ईशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई कदर पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
गत वैशाख १७ गते काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा दुई व्यक्तिले पेस्तोल देखाई लुटपाटको प्रयास गर्दा सञ्जिताले आफ्नो ज्यानको पर्वाह नगरी असाधारण साहस, आत्मविश्वास र जिम्मेवारी प्रदर्शन गरेकी थिइन् । घटनाको संवेदनशील परिस्थितिमा पनि उनले धैर्यता कायम राख्दै प्रहरीलाई आवश्यक सूचना उपलब्ध गराएर अनुसन्धानमा महत्वपूर्ण सहयोग पुर्याएकी हुन् ।
विशेषगरी घटनामा संलग्न व्यक्तिहरूको हुलिया तथा सिसिटिभी फुटेज समयमै प्रहरीलाई उपलब्ध गराउन उनले देखाएको सक्रियताले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन ठूलो भूमिका खेलेको नेपाल प्रहरीले जनाएको छ ।
सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सञ्जिता शाक्यले देखाएको अदम्य साहस, नागरिक चेतना र जिम्मेवारीबोध समाजका लागि प्रेरणादायी रहेको बताउनुभयो । उहाँले सभ्य, सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा प्रविधिको उच्च प्रयोगसहित जनसहभागितालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित सञ्जिता शाक्यले घटनाको अनुभव साझा गर्दै कठिन परिस्थितिमा पनि सचेत र साहसी बन्नुपर्ने सन्देश दिनुभएको थियो ।
नेपाल प्रहरीले सञ्जिताले प्रदर्शन गरेको साहस र सतर्कताले सम्भावित आपराधिक घटना नियन्त्रण हुनुका साथै समाजमा सुरक्षा सचेतना र अपराधविरुद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको विश्वास व्यक्त गरेको छ ।
(फोटो: नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, जनसम्पर्क तथा मिडिया समन्वय शाखा (केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्