लागूऔषधविरुद्ध प्रहरीको ‘महा-अप्रेसन’: देशैभरबाट ४१ जना समातिए, भारतीय नागरिकदेखि सासू-बुहारीसम्म पक्राउ!

लागूऔषधविरुद्ध प्रहरीको ‘महा-अप्रेसन’: देशैभरबाट ४१ जना समातिए, भारतीय नागरिकदेखि सासू-बुहारीसम्म पक्राउ!

काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध तस्कर र प्रयोगकर्ताहरूविरुद्ध देशव्यापी रूपमा ‘महा-अप्रेसन’ चलाएको छ। २४ घण्टाभित्र काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४१ जना पक्राउ परेका छन्।

कोकिन र हेरोइनको ‘नेक्सस’ काठमाडौँको कोटेश्वर ब्यूरोले ३३ ग्राम कोकिन र ७९ ग्राम खैरो हेरोइनसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतीय नागरिकहरू हर्षित डाँगी र मानिक गुलाटी समेत छन्। यस्तै, १२ हजार ६ सय ट्याब्लेट ट्रामाडोलसहित नुवाकोट, काभ्रे र मनाङका युवाहरू समेत प्रहरी खोरमा पुगेका छन्।

सासू-बुहारी र भारतीय नागरिक गाँजासहित फन्दामा सुनसरीको कोशी गाउँपालिकामा अनौठो दृश्य देखियो। ७० वर्षीया वृद्ध लक्ष्मी सरदार, उनकी ४२ वर्षीया बुहारी देवकी सरदार र भारतीय नागरिक सहवाज आलम ७५ किलो गाँजासहित पक्राउ परेका छन्। उनीहरूले आफ्नै पसलबाट गाँजाको अवैध कारोबार गरिरहेको खुलेको छ।

पर्सा र धादिङमा पनि प्रहरीको सफलता पर्साको वीरगन्जस्थित समर होटलको कोठा नम्बर १०५ बाट ३० हजार ट्याब्लेट ट्रामाडोलसहित भारतीय युवक सागर कुमार पटेल पक्राउ परेका छन्। यता धादिङको गल्छीबाट १७ किलो गाँजा र २ किलो चरेससहित ३ जनालाई प्रहरीले समातेको छ।

सीमा क्षेत्रमा कडा निगरानी कैलाली, झापा, कञ्चनपुर, बाँके र जुम्लामा पनि प्रहरीले ठुलो सफलता हात पारेको छ। भारतबाट नेपालतर्फ पैदल र मोटरसाइकलमा लागूऔषध भित्र्याउँदै गरेका कैयौँ युवाहरू खैरो हेरोइन र ब्राउनसुगरसहित रङ्गेहात पक्राउ परेका छन्। जुम्लामा १८ वर्षीय किशोर ३३ हजार नगद र ब्राउनसुगरसहित समातिएका छन्।


२. होटलमा ‘राम्रो काम’को लोभ देखाएर अनैतिक धन्दा: पोखराबाट दुई महिलासहित ४ जना मानव तस्कर पक्राउ!

पोखरा । पर्यटकीय नगरी पोखरामा होटलमा काम लगाइदिने बहानामा युवतीहरूलाई अनैतिक कार्यमा लगाउने गिरोहलाई प्रहरीले पर्दाफास गरेको छ।

प्रलोभनको पासो पोखरा महानगरपालिका-८ जाल्पारोडका विभिन्न खाजाघरहरूमा युवतीहरूलाई ‘राम्रो तलब, खान र बस्नको सुविधा’ दिने प्रलोभन देखाएर अनैतिक गतिविधिमा संलग्न गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

को-को भए पक्राउ? पक्राउ पर्नेहरूमा ५० वर्षीय विष्णु बहादुर राजभाट, भारतीय नागरिक अमिर उल्ला मिया र सिन्धुली तथा मोरङ घर भएका दुई महिला रहेका छन्। उनीहरूले युवतीहरूको गरिबी र बाध्यताको फाइदा उठाउँदै मानव बेचबिखन तथा ओसारपसारको धन्दा चलाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी उनीहरूमाथि ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा विस्तृत अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।