सावधान! डिसहोमको रिचार्ज अफर भन्दै ठगी गर्ने गिरोह पक्राउ: यसरी हुन्थ्यो लुटधन्दा

सावधान! डिसहोमको रिचार्ज अफर भन्दै ठगी गर्ने गिरोह पक्राउ: यसरी हुन्थ्यो लुटधन्दा

काठमाडौं, काठमाडौंमा डिसहोमको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ‘एक वर्षको रिचार्ज गर्दा ४ महिना सित्तैमा’ भन्दै लोभ्याएर ग्राहकको गोजी रित्याउने कार्यमा संलग्न तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आइतबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा टोखा बस्ने २२ वर्षीया आरती सिंखडा (धादिङ), २२ वर्षीय विष्णु कार्की (दोलखा) र ४७ वर्षीय असल सिंह तामाङ (रामेछाप) रहेका छन्।

प्रहरीका अनुसार यो गिरोहले डिसहोमका नियमित ग्राहकहरूलाई फोन गरेर आफूहरू कम्पनीको आधिकारिक कर्मचारी भएको बताउँदै आकर्षक अफरको प्रलोभन देखाउने गरेको थियो। “१ वर्षको रिचार्ज गर्दा ४ महिना बोनस पाइन्छ” भन्दै उनीहरूले ग्राहकलाई झुक्यानमा पारी रकम असुल गर्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ। पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका तीनै जनालाई ठगी मुद्दामा थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। पछिल्लो समय प्रविधिको दुरुपयोग गरी विभिन्न अफरका नाममा ठगी गर्ने क्रम बढेकाले अपरिचित नम्बरबाट आउने यस्ता फोन कल र शंकास्पद अफरहरूप्रति सजग रहन प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ। आधिकारिक काउन्टर वा भरपर्दो माध्यमबाट मात्र रिचार्ज र भुक्तानी गर्न समेत सुझाव दिइएको छ।