विभिन्न स्थानबाट १५ जना अवैध लागूऔषधसहित पक्राउ

विभिन्न स्थानबाट १५ जना अवैध लागूऔषधसहित पक्राउ


चैत १५ || बझाङ — जयपृथ्वी नगरपालिका–९ चिउरीखानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने १७० मिलिग्राम सहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका–२ बस्ने २६ वर्षीय प्रदिप बोहरा र २३ वर्षीय तिलक बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।


रूपन्देही — कञ्चन गाउँपालिका–५ गरगरेस्थित देउराली टोल बस्ने किरण सुनार लगायत २ जनालाई करिब १ ग्राम ८ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले घर तलासी गरी पदार्थ फेला पारेको थियो।


कैलाली — धनगढी उपमहानगरपालिका–९ ब्रांग्रा कटानबाट २० वर्षीय जनक ठगुन्नालाई ३ ग्राम २०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको हो।


मोरङ — कानेपोखरी गाउँपालिका–६ बिहिबारे बस्ने ३२ वर्षीय दिप्लुङ राईसहित ३ जनालाई करिब १ ग्राम २०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित पक्राउ गरिएको छ। प्रहरी चौकी रमाईलोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।


कञ्चनपुर — बेलौरी नगरपालिका–६ बाट २ ग्राम ९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका–१ ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल रानालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।


झापा — भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी बस्ने १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय भद्रपुरले पैदल आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो।


नवलपरासी पूर्व — बिनयी त्रिबेणी गाउँपालिका–२ दुम्किवास बजारबाट ८८ ट्याब्लेट स्पास्मो र नगद ८ हजार ५ सय रुपैयाँसहित २ जनालाई पक्राउ गरिएको छ। मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।


बाँके — कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारूलाई ६ ग्राम १८० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरले घर तलासी गरी पदार्थ फेला पारेको थियो।


प्रहरीले अवैध लागूऔषध नियन्त्रणमा आवश्यक अनुसन्धान जारी राखेको छ र सोही क्रममा नियमित छापा अभियानलाई तीव्र बनाएको छ।