सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, १२ चैत || मोरङ, धनुषा र रसुवामा सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ। घटनाले सडक सुरक्षा र यातायात नियमको पालना गर्नुपर्ने आवश्यकतालाई फेरि उजागर गरेको छ।
मोरङको कानेपोखरी–७ जहदास्थित सडकमा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को.१ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट ५८ वर्षीय विरेन्द्र कार्कीको बिहीबार बिहान मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, धनुषाधाम–३ स्थित सडकमा धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय राजेश्वर महराको बुधबार राति मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको ओम दिर्घायु अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ।
रसुवाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडा भीरस्थित सडकमा कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना.६ ख ५४९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ३९ वर्षीय पासाङ तामाङ र २६ वर्षीय पेम्बा छेवाङ थोक्राको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरूको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा निधन भएको हो।
प्रहरीले तीनै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ र सडक सुरक्षा नियमको पालना नगर्दा ज्यान जाने जोखिम बढ्ने चेतावनी दिएको छ।
नागरिकलाई सडकमा सावधानी अपनाउन र नियम पालना गर्न प्रहरीको आग्रह छ।



प्रतिकृया दिनुहोस्