काठमाडौंमा सुन चोरीमा संलग्न पाँच जना पक्राउ, २३ ग्राम सुन बरामद

काठमाडौंमा सुन चोरीमा संलग्न पाँच जना पक्राउ, २३ ग्राम सुन बरामद

काठमाडौं, १२ चैत || चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बिक्रम थापा मगरको घरबाट सुनको गरगहना, मोबाइल र नगद चोरी भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तारकेश्वर–१० बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, सामाखुसी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, म्हेपी बस्ने २८ वर्षीय प्रदिप गुरूङ, रसुवा नौकुण्ड–५ घरका २८ वर्षीय सागर कामी र न्यूरोड बस्ने २८ वर्षीय गौरब गुणाजी मोरे रहेका छन्।

गत फागुन २८ गते चोरी भएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट २३ ग्राम ३०० मिलिग्राम तौलको सुनका ढिक्का ३ थान र मोटरसाइकल १ थान बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

प्रहरीको सक्रियताले चोरी घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पत्ता लगाउन सकिएको र सर्वसाधारणलाई आफ्ना मूल्यवान वस्तु सुरक्षित राख्न आग्रह गरिएको छ।