देशभर लागूऔषधविरुद्ध ठूलो ‘एक्सन’, १४ जना एकैदिन पक्राउ
काठमाडौं, १२ चैत || नेपाल प्रहरीले देशका विभिन्न स्थानमा सञ्चालन गरेको लागूऔषधविरुद्धको अभियान अन्तर्गत एकैदिन १४ जना पक्राउ परेका छन्। काठमाडौंदेखि झापा, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर र सुनसरीसम्म गरिएको कारबाहीमा विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ।
काठमाडौंको ठमेलस्थित होटलमा छापा मार्दै प्रहरीले २० ग्राम खैरो हेरोइन जस्तो पदार्थसहित सिराहाका २९ वर्षीय रक्की कुमार यादवलाई पक्राउ गरेको छ। त्यसैगरी नयाँ बजार क्षेत्रबाट २२० ग्राम पोलेनसहित ३८ वर्षीय रमेश बसेललाई नियन्त्रणमा लिइएको छ।
झापाको मेचीपुलबाट ब्राउनसुगरसहित ३३ वर्षीय दिनेश कुर्मी पक्राउ परेका छन् भने बर्दियाको गुलरिया क्षेत्रबाट पनि लागूऔषधसहित ३५ वर्षीय गंगाराम सुनारलाई प्रहरीले समातेको छ।
सिराहामा ४० ग्राम खैरो हेरोइनसहित ४२ वर्षीय गणेश कुमार चौधरी पक्राउ परेका छन् भने दाङको तुलसीपुरमा २ जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ।
कैलाली, कञ्चनपुर र सुनसरीमा समेत व्यापक कारबाही गर्दै प्रहरीले थप व्यक्तिहरू पक्राउ गरेको छ। कञ्चनपुरमा २ जना, सुनसरीमा ४ जना पक्राउ परेका छन्, जसबाट ट्रामाडोल, स्पास्पेन ट्याब्लेट र करिब १७ किलो गाँजा बरामद भएको छ।
विशेषगरी सुनसरीमा ठूलो परिमाणमा औषधिजन्य लागूऔषध र गाँजा फेला परेपछि प्रहरीले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताउँदै लागूऔषध कारोबारमा संलग्नमाथि कडा निगरानी राखिएको जनाएको छ।
पछिल्लो समय देशभर लागूऔषधको जालो फैलिँदै गएको भन्दै प्रहरी सतर्कता अपनाउन र यस्ता गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्