चैते दशैंमा प्रहरी मुख्यालयमा विशेष मौलो पूजा, IGP कार्कीको उपस्थितिमा भव्य कार्यक्रम
काठमाडौं, १२ चैत || चैते दशैंको अवसरमा नेपाल प्रहरी मुख्यालय नक्सालमा परम्परागत रूपमा गरिने मौलो पूजा भव्य रूपमा सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वयं उपस्थित भई पूजाअर्चना गरेसँगै कार्यक्रम विशेष बन्यो।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ स्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्दै बली पूजा समेत सम्पन्न गर्नुभयो। यस क्रममा उहाँले निशानमा पञ्जा छाप लगाउँदै परम्परागत विधि पूरा गर्नुभयो।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान समेत गरिएको छ। प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरीसहित नगद पुरस्कार र प्रहरी हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैले मौलो परिक्रमा गर्दै धार्मिक आस्था प्रकट गरेका थिए।
पूजा सम्पन्न भएपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो भने सहभागीहरूले पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए।
नेपाल प्रहरीको निशान विशेष ऐतिहासिक महत्व बोकेको छ, जुन नेपाली सेनाको रामदल पल्टनबाट प्राप्त भएको हो। यसलाई शान्ति सुरक्षा कायम राख्ने प्रतीकका रूपमा लिने गरिन्छ।
विश्वास गरिन्छ कि निशान पूजा गरेपछि संगठनमा कुनै अनिष्ट नहोस् र सबै कार्य सफल होस्। यही परम्परा अनुसार नेपाल प्रहरीले २०११ सालदेखि हरेक वर्ष वडा दशैं र चैते दशैंमा मौलो पूजा गर्दै आएको छ।
तस्बित: नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय



प्रतिकृया दिनुहोस्