विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोह पक्राउ

विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, चैत ८ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर–७ बस्ने अर्जुन बहादुर पौडेल, महालक्ष्मी–७ बस्ने डिल्ली राम भुजेल, काठमाडौं–१६ बस्ने उमा गुरुङ, ललितपुर–७ बस्ने आशिष महत र मध्यपुर थिमी–४ बस्ने संगिता श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले विभिन्न देश पठाइदिने भन्दै फरक–फरक पीडितबाट ठूलो रकम असुलेका थिए। अर्जुनले क्रोएशिया पठाइदिने भन्दै ३ लाख ३० हजार, डिल्लीले माल्दिभ्स पठाइदिने भन्दै २ लाख ९९ हजार, उमाले बेलायत पठाइदिने भन्दै २ लाख, आशिषले बेलायत पठाइदिने भन्दै २३ लाख र संगिताले पोर्चुगल पठाइदिने भन्दै ३ लाख ६८ हजार रुपैयाँ लिएका थिए।

रकम लिइसकेपछि सम्पर्कविहीन बनेपछि पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

हाल उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।