ग्रीस–स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

ग्रीस–स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभन देखाएर ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन–३ का काभ्रे रोशी–६ का ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र काठमाडौं–३१ का सिराहा मिर्चैया–३ का २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्।

उजुरी अनुसार रकम बहादुरले ग्रीस पठाउने भन्दै ३ जना पीडितबाट २५ लाख रुपैयाँ र लक्ष्मणले स्पेन पठाउने भन्दै ५ जना पीडितबाट १३ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले रकम बहादुरलाई काठमाडौं–१३ बाट र लक्ष्मण कुमारलाई काठमाडौं–३१ बाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।

सावधान! वैदेशिक रोजगारीको नाममा ठगी हुने घटना बढिरहेको छ, नागरिक सचेत रहनुहोस्।