नागरिकको अपेक्षा अनुसार काम गर्न निर्देशन – प्रहरी प्रमुख कार्की
काठमाडौं, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन र इमानदारितासहित काम गर्न निर्देशन दिनुभएको छ। उहाँले नागरिकको विश्वास जित्ने व्यवहार, बोली र कार्यशैली अपनाउन विशेष जोड दिनुभयो।
भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन प्रहरीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। यसले संगठनको छवि र विश्वसनीयता अझ बलियो बनाएको उहाँको भनाइ थियो।
उहाँले प्रहरीको मुख्य जिम्मेवारी सेवा र सुरक्षा भएको उल्लेख गर्दै आ-आफ्नो कार्यक्षेत्रको स्पष्ट जानकारी राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधि रोक्न सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। साथै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सतर्कता अपनाउन जोड दिनुभयो।
त्यसैगरी हिरासत व्यवस्थापनमा उच्च सावधानी अपनाउन र कार्यसम्पादनमा थप व्यावसायिकता देखाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा उच्च प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो भने देशभरका विभिन्न प्रहरी इकाइहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।



प्रतिकृया दिनुहोस्