निर्वाचन सफल बनाउन प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी दान बहादुर कार्की
काठमाडौं, २५ फागुन — प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउनुभएको छ।
नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी अधिकृत र जवानहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले सीमित साधनस्रोत र भौतिक पूर्वाधारको अभावका बाबजुद पनि प्रहरी कर्मचारीहरूले उच्च मनोबल, जिम्मेवारीबोध र व्यावसायिकता प्रदर्शन गर्दै ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गराएको बताउनुभयो।
उहाँले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको अथक सक्रियता महत्वपूर्ण रहेको उल्लेख गर्दै आ–आफ्नो कार्यक्षेत्रको विस्तृत जानकारी राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापन थप मजबुत बनाउन निर्देशन दिनुभयो।
साथै सामाजिक सञ्जाल प्रयोग गर्दा समेत उच्च व्यावसायिकता, तटस्थता, इमानदारी र जिम्मेवारी कायम राख्न प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।
प्रहरी पेशा केवल जागिर नभई सेवा भएको उल्लेख गर्दै आईजीपी कार्कीले सेवाभाव, अनुशासन, इमानदारी र कर्तव्यपरायणतासहित संगठनको लक्ष्य प्राप्तिका लागि सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की लगायत प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।



प्रतिकृया दिनुहोस्