नेपाल प्रहरीमा निर्वाचन केन्द्रित सुरक्षा अन्तरक्रिया सम्पन्न
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की को समुपस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि सुरक्षा व्यवस्थापन र सुदृढीकरण सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ले निर्वाचनका समयमा देखा पर्न सक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गरी सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षा रणनीति र कार्ययोजना प्रभावकारी रूपमा लागू गर्दै सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
प्रहरी महानिरीक्षक कार्की ले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सबै पक्षहरूले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलताअनुसार समन्वयात्मक ढंगबाट कार्य गर्नुपर्नेमा जोड दिनुभयो। साथै विगतमा भएका त्रुटी र चुनौतीहरूको विश्लेषण गर्दै आगामी निर्वाचनमा अझ प्रभावकारी सुरक्षा रणनीति लागू गरिने बताउनुभयो।
कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्ले ले जोखिम र चुनौतीहरू विश्लेषण गरी थप क्रियाशील भएर कार्य गर्न आवश्यक रहेको बताउनुभयो। नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहोरा ले निर्वाचन सुरक्षा तयारी, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन र सुरक्षा चुनौतीहरूको प्रस्तुतीकरण गर्नुभयो।
अन्तरक्रियामा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू र वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो। यस अन्तरक्रियाले आसन्न निर्वाचनमा प्रभावकारी, सुदृढ र भयरहित सुरक्षा सुनिश्चित गर्न रणनीतिक सुझाव तथा अनुभवहरूलाई संस्थागत रूपमा समेट्ने महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल प्रहरी आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्वतयारी र सुरक्षा कार्यान्वयनका लागि सक्रिय तयारीमा रहेको छ।



प्रतिकृया दिनुहोस्