राजस्व चुहावट नियन्त्रणमा कडाइ: उच्चस्तरीय बैठक सम्पन्न

राजस्व चुहावट नियन्त्रणमा कडाइ: उच्चस्तरीय बैठक सम्पन्न

काठमाडौं, ११ फागुन

रामेश्वरप्रसाद खनाल को प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

बैठकमा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै निकायबीच मजबुत समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। अघिल्ला निर्णयहरूको कार्यान्वयन सकारात्मक रहेको उल्लेख गर्दै प्रणालीगत सुधारलाई थप सुदृढ बनाउन निर्देशन दिनुभयो।


“राजस्व चुहावट आर्थिक मात्र होइन, राष्ट्रिय सुरक्षासँग जोडिएको विषय”

दान बहादुर कार्की ले राजस्व चुहावट नियन्त्रण सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमताअनुसार सक्रिय भूमिका खेलिरहेको बताउनुभयो।

रणनीतिक सहयोग, प्रविधि सुदृढीकरण, जनशक्ति विकास र कानूनी मजबुतीमार्फत दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो।


प्रस्तुतीकरण र भर्चुअल अन्तरक्रिया

  • विश्व अधिकारी ले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभयो।

  • उत्तर कुमार खत्री ले राजस्व परिचालन र चुहावटसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभयो।

सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा मोरङ, बारा, चितवन, बाँके र कैलालीका जिल्ला प्रहरी प्रमुखहरूसँग भर्चुअल माध्यमबाट छलफल गरिएको थियो। सीमा नाकामा जडान गरिएका सिसिटिभीमार्फत वस्तुस्थितिको समीक्षा समेत गरिएको थियो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सशस्त्र प्रहरी, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

राजस्व चुहावट नियन्त्रणलाई सशक्त बनाउन सरकार र सुरक्षा निकायको संयुक्त रणनीति अघि बढ्ने संकेत देखिएको छ।


(फोटो – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय !)