“माओवादीका कार्यकर्ता हौं” भन्दै गैरकानुनी चन्दा संकलन, २ जना समातिए

“माओवादीका कार्यकर्ता हौं” भन्दै गैरकानुनी चन्दा संकलन, २ जना समातिए

कास्की, ५ फागुन — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै “माओवादीका कार्यकर्ता हौं” भन्दै विभिन्न स्थानमा डरधाक धम्की दिई गैरकानुनी रूपमा चन्दा असुली गर्ने आरोपमा दुई जना पक्राउ परेका छन्।

कास्की जिल्लामा सक्रिय रहेको उक्त समूहमा संलग्न रहेको अभियोगमा ३७ वर्षीय भीमसेन परियार (माछापुच्छ्रे गाउँपालिका–२) र ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे (व्यास नगरपालिका–१३, छाब्दी) लाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार निर्वाचनलाई बिथोल्ने उद्देश्यसहित विभिन्न व्यवसायी तथा स्थानीयसँग धम्कीपूर्ण शैलीमा रकम असुली भइरहेको गोप्य सूचनाका आधारमा संयुक्त अपरेसन सञ्चालन गरिएको थियो। उक्त अपरेसनमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराजिल्ला प्रहरी कार्यालय कास्की को टोली खटिएको थियो।

प्रहरीले उनीहरूविरुद्ध चन्दा ऐन सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्दै जिल्ला अदालत कास्की बाट ५ दिनको म्याद थप अनुमति लिएको जनाएको छ।

निर्वाचन नजिकिँदै गर्दा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय थप सतर्क रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।