नेपाल प्रहरीभित्र सञ्चार सुधार अभियान सुरु, देशभरका प्रवक्तासँग उच्चस्तरीय अन्तरक्रिया
काठमाडौं, ५ फागुन — नेपाल प्रहरी भित्र सूचना व्यवस्थापन र पारदर्शितालाई अझ सुदृढ बनाउन उच्चस्तरीय सक्रियता देखिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले ले देशभरका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीहरूसँग भर्चुअल माध्यमबाट विशेष छलफल तथा अन्तरक्रिया गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय बाट सञ्चालन गरिएको उक्त अन्तरक्रियामा सूचना सम्प्रेषणको शैली, सतर्कता र समसामयिक चुनौतीहरूबारे गम्भीर समीक्षा गरिएको थियो। प्रहरी नायव महानिरीक्षक काफ्लेले विशेष गरी पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति तथा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने सूचनाको विश्वसनीयता र वस्तुनिष्ठतामा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो।
उहाँले सूचनाको हक सम्बन्धी ऐन, २०६४, संवैधानिक प्रावधान तथा नेपाल प्रहरी को सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० लगायतका कानुनी तथा नीतिगत व्यवस्थाबारे विस्तृत जानकारी दिँदै सूचना प्रवाह सधैं सत्य, पारदर्शी र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो।
सामाजिक सञ्जालको बढ्दो प्रभावलाई मध्यनजर गर्दै उहाँले गलत व्याख्या, अफवाह तथा भ्रामक सन्देश नियन्त्रण गर्न थप सतर्कता अपनाउन निर्देशन दिनुभयो। “सूचना केवल खबर होइन, जनविश्वासको आधार हो,” भन्ने सन्देशसहित उहाँले सकारात्मक सोच, जनविश्वास र संगठनप्रति जनाधार मजबुत बनाउन रणनीतिक सञ्चार आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवं सूचना अधिकारीहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो। साथै सातै प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयहरूबाट समेत उल्लेखनीय उपस्थिति देखिएको थियो।
सूचना प्रवाहमा एकरूपता, विश्वसनीयता र डिजिटल जिम्मेवारीलाई प्राथमिकता दिने सन्देशसहित सम्पन्न उक्त अन्तरक्रियालाई संगठनभित्र “सशक्त सञ्चार अभियान” को रूपमा हेरिएको छ।



प्रतिकृया दिनुहोस्