देशभर छुट्टाछुट्टै सवारी दुर्घटना: ६ जनाको मृत्यु
काठमाडौंसहित विभिन्न जिल्लामा दुर्घटना, चालकहरू नियन्त्रणमा
काठमाडौं, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्। सम्बन्धित जिल्ला प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
काठमाडौं (कागेश्वरी मनोहरा–७, निलबाराही)
बा.३ ख ३९५४ नम्बरको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा ४६ वर्षीया रोशना महन्ता दुवालको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। ट्याङ्कर चालक नियन्त्रणमा छन्।
तनहुँ (शुक्लागण्डकी–२, नर्सरी)
मोटरसाइकल र ट्याक्सी ठोक्किँदा १८ वर्षीय समेश कुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ। ट्याक्सी चालकसहित अन्य ३ जना घाइतेको उपचार भइरहेको छ।
सल्यान (कपुरकोट–३, चोर खोला)
बोलेरो जिप अनियन्त्रित हुँदा चालक ३० वर्षीय विजय बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ। जिपमा सवार ३ जना घाइतेलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।
कास्की (पोखरा महानगर–२५, हेम्जा)
रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय प्रेम बिकको उपचारका क्रममा मृत्यु भएको छ। बस चालक नियन्त्रणमा छन्।
कास्की (पोखरा महानगर–४, फिर्केपुल)
स्कुटर दुर्घटनामा १८ वर्षीय समिप उपरकोटीको मृत्यु भएको छ। स्कुटरमा सवार अर्का एक जना घाइतेको उपचार भइरहेको छ।
रूपन्देही (रोहिणी–३, रामनगर)
कारको ठक्करबाट साईकलयात्री ६५ वर्षीय सुर्यमान खरबिन्द्रको उपचारका क्रममा मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सबै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सवारी साधन चलाउँदा गति नियन्त्रण, सावधानी र ट्राफिक नियमको पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्