देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

प्रहरीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं,  देशका विभिन्न जिल्लामा चार जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। घटनाबारे सम्बन्धित जिल्ला प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोका नमुना चोक निवासी ३२ वर्षीय छिरिङ लामा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैगरी, झापा जिल्लाको हल्दीबारी गाउँपालिका–४, मङ्गलबारे बजारस्थित एक छाप्रोमा अन्दाजी ६० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको नाम, थर र ठेगाना हालसम्म खुलेको छैन। पहिचानका लागि प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, म्याग्दीको मंगला गाउँपालिका–५, बाबियाचौरस्थित म्याग्दी खोलाको किनारमा सोही स्थानकी ६० वर्षीया गंगादेवी कँडेल मृत अवस्थामा फेला परेकी छिन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

उता, दार्चुलाको मार्मा गाउँपालिका–१, घोल्जर निवासी २५ वर्षीय प्रकाश ठगुन्ना आफ्नै घर नजिकै रहेको गोठमा मृत अवस्थामा भेटिएका छन्।

चारै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ। प्रारम्भिक विवरणअनुसार घटनाको कारण खुल्न बाँकी रहेको जनाइएको छ।