देशका दुई जिल्लामा रहस्यमय मृत्यु! कुलो र खाली जग्गामा शव फेला

देशका दुई जिल्लामा रहस्यमय मृत्यु! कुलो र खाली जग्गामा शव फेला

काठमाडौं, एकै दिन देशका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्, जसले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–५ कालसैनमा बस्ने ४० वर्षीय अमर सिंह बिष्ट मंगलबार सोही स्थानस्थित कोल्ने खोलाको सिँचाइ कुलोमा मृत अवस्थामा फेला परेका हुन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसैगरी, भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ धारापाटीस्थित खाली जग्गामा अन्दाजी ५२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको नाम, थर र वतन हालसम्म खुलेको छैन

दुवै घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले घटनास्थल नियन्त्रणमा लिई मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

लगातार देखिन थालेका यस्ता घटनाले सुरक्षाबारे प्रश्न उठाएको भन्दै स्थानीयवासीले छिटो सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।