छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको ज्यान गयो

छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको ज्यान गयो

काठमाडौं, २७ माघ – मंगलबारको दिन देशका विभिन्न स्थानमा भएका भयावह सवारी दुर्घटनाले १४ जनाको ज्यान लिँदा देशभर शोक छाएको छ। रामेछाप, कास्की र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनाले धेरै परिवार उजाडिएका छन्।

रामेछापमा कहालीलाग्दो बस दुर्घटना: तामाकोशीमा खस्यो बस

रामेछापको मन्थली नगरपालिका–६ बेनीघाट पुल नजिक काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको बसअनियन्त्रित भई तामाकोशी नदीमा खस्दा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ६ जनालाई धुलिखेल अस्पताल काभ्रे र १ जनालाई छाउनी अस्पताल काठमाडौं रिफर गरिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखरामा स्कुटर दुर्घटना: १९ वर्षीय युवकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–१६ अर्मलामा स्कुटर दुर्घटना हुँदा १९ वर्षीय आर्यन गुरूङको ज्यान गएको छ। धार्मीबाट बाटुलेचौरतर्फ आउँदै गरेको ग.१० प २५२१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
स्कुटरमा सवार अर्का एक जना घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कैलालीमा जिप–अटो ठक्कर: ९ वर्षीया बालिकाको ज्यान गयो

कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीमा जिप र अटो ठोक्किँदा ९ वर्षीया सम्रिद्धी चौधरीको ज्यान गएको छ।
गम्भीर घाइते भएकी बालिकाको नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


लगातार बढ्दो सवारी दुर्घटनाले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।