इकान अध्यक्ष पदका लागि लक्ष्मण पौडेल (एन्ड्रयू) को उम्मेदवारी घोषणा
काठमाडौं, पुस १६, २०८२
शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इकान) को आगामी निर्वाचनमा वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयू) ले अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
शैक्षिक परामर्श व्यवसायमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका पौडेल गुणस्तरीय, पारदर्शी र विद्यार्थीमैत्री शिक्षा प्रणालीको पक्षमा निरन्तर आवाज उठाउँदै आएका स्थापित व्यक्तित्व हुन्। शैक्षिक परामर्श कम्पनीहरूको व्यावसायिक सुधार, न्यायपूर्ण अभ्यास तथा अधिकार संरक्षणका लागि उनी सक्रिय रूपमा वकालत गर्दै आएका छन्।
व्यक्तिगत व्यवसायिक सफलतासँगै उद्योगमा आबद्ध टिम सदस्य तथा सहकर्मीहरूको क्षमता विकास, तालिम र नेतृत्व निर्माणमा समेत पौडेलको योगदान उल्लेखनीय रहेको छ। गत निर्वाचनमा लोकप्रिय मतसहित उपाध्यक्ष पदमा निर्वाचित भएका उनी हाल प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेका छन्।
आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनु संस्थागत निरन्तरता र सुदृढ संगठन निर्माणको स्वाभाविक प्रक्रिया भएको पौडेलको भनाइ छ। विभिन्न सर्वेक्षण तथा सदस्यहरूको धारणा अनुसार इकानजस्तो ठूलो र प्रभावशाली संस्थालाई सहकार्य, सुधार र दिशानिर्देश दिन सक्षम नेतृत्वका रूपमा पौडेललाई हेरिएको छ।
इकान नेपालकै सबैभन्दा ठूलो शैक्षिक परामर्श संस्था हो, जसको भूमिका विदेश अध्ययन गर्न चाहने हजारौँ विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पौडेलको नेतृत्वमा संस्थाले थप व्यावसायिकता, पारदर्शिता, संस्थागत सुशासन र विद्यार्थीहितलाई प्राथमिकतामा राख्दै अघि बढ्ने अपेक्षा गरिएको छ।
उनको उम्मेदवारीले शैक्षिक परामर्श क्षेत्रमा नयाँ ऊर्जा, विश्वास र सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।
इकानको निर्वाचन मिति चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्