“जहाँ सफलता पासपोर्टमा मापन हुन्छ”
हामी यस्तो देशमा बाँचिरहेका छौँ जहाँ आजकल सफलताको अर्थ विस्तारै बदलिँदै गएको छ। कसैले ठूलो परीक्षा पास गर्यो भने सबैभन्दा पहिले सोधिने प्रश्न हुन्छ—“अब विदेश कहिले जाने?” कसैले पासपोर्ट बनायो भने घरमा मिठाई बाँडिन्छ। कसैले विमानस्थलबाट फोटो पठायो भने गाउँभरि खबर फैलिन्छ—“उ त सफल भयो, विदेश गयो।” तर कसैले यहीँ बसेर केही गर्न खोज्यो भने मानिसहरू हल्का मुस्कुराउँछन्, मानौँ ऊ अझै आफ्नो जीवनको सही बाटो खोज्दैछ। यो केवल एउटा सामाजिक सोच मात्र होइन, यो हाम्रो समयको गहिरो पीडा हो।
नेपालका पहाडहरू आज पनि उस्तै अडिग छन्। नदीहरू उस्तै संगीतमा बगिरहेका छन्। माटोको सूगन्ध आज पनि उस्तै पवित्र छ। तर परिवर्तन भएको छ—गाउँका घरहरूमा सुनिने हाँसो। आज धेरै गाउँहरूमा साँझ पर्दा घरका ढोकाहरू बन्द हुन्छन्, तर भित्र मानिसहरू कम हुन्छन्। आँगनहरू छन्, तर खेल्ने केटाकेटी कम छन्। र धेरै आमाहरूका आँखामा एउटा लामो पर्खाइ बसेको छ।
नेपालको एउटा सानो गाउँमा एक आमा हरेक बिहान आँगनमा बस्छिन्। उनको आँखा सधैं त्यही बाटोतिर हुन्छ—जहाँबाट उनका छोराले एकदिन घर फर्किनेछ। उनको छोरा नराम्रो ठाउँमा छैन। ऊ विदेशमा छ, राम्रो कमाइ गर्छ। पैसा पठाउँछ, घर बनाइदिएको छ। गाउँका मानिसहरू भन्छन्—“तपाईंको छोरा त धेरै सफल भयो।” तर त्यो आमालाई एउटा सानो सत्य थाहा छ, घर ठूलो बनेको छ, तर घर खाली भएको छ। छोराको कमाइले घरको छाना फेरिएको छ, तर आँगनको शुन्यपन भने अझै उस्तै छ।
विदेश जानु गलत होइन। संसार हेर्नु, सिक्नु, परिवारको भविष्य सुरक्षित गर्नु – यी सबै सम्मानजनक कुरा हुन्। तर जब एउटा देशका लगभग सबै युवाहरूको सपना एउटै बन्न थाल्छ—“कसरी देश छोड्ने?” त्यो देशको आत्मा कतै न कतै थाक्न थाल्छ। हाम्रा पुर्खाहरूले यो देश केवल नक्सामा जोगाएका थिएनन्। उनीहरूले यसलाई माया, साहस र बलिदानले बचाएका थिए। उनीहरूले पहाडहरूमा संघर्ष गरेर, गरिबी सहेर पनि एउटा कुरा कहिल्यै छोडेनन्—देशप्रतिको विश्वास।
तर आजको पुस्ता कहिलेकाहीँ निराश देखिन्छ। हामीले आफ्नै माटोमा भविष्य देख्न डराउन थालेका छौँ। सायद समस्या देश मात्र होइन, सायद समस्या हाम्रो विश्वास कमजोर हुँदै जानु पनि हो। देशलाई गाली गर्ने मानिस धेरै भेटिन्छन्, तर देश बदल्ने सपना देख्ने मानिस कम हुँदै गएका छन्। देश परिवर्तन केवल सरकारको जिम्मेवारी होइन। देश परिवर्तन गर्ने शक्ति त्यो युवाको हातमा हुन्छ जसले कठिनाइ देखेर भाग्दैन, बरु समाधान खोज्छ।
सफलता विदेशको चम्किलो शहरमा मात्र भेटिन्छ भन्ने होइन। सफलता त्यो दिन पनि हुन्छ—जब कसैले गाउँमै रोजगारी सिर्जना गर्छ। जब कसैले आफ्नो सीपले अरूको जीवन बदल्छ। जब कसैले गर्वका साथ भन्छ—“म यही माटोमा केही गरेर देखाउँछु।” हामीले विदेश जानेहरूलाई दोष दिनु हुँदैन, किनकि उनीहरू पनि सपना र जिम्मेवारी बोकेर गएका हुन्छन्।
तर हामीले एउटा नयाँ सोच जन्माउन सक्छौँ—देश छोड्नु सफलता हुन सक्छ, तर देश बनाउनु अझ ठूलो सफलता हुन सक्छ। एकदिन यस्तो नेपाल पनि बन्न सक्छ जहाँ विदेश जानु बाध्यता होइन, विकल्प हुनेछ। जहाँ आमाले छोरालाई विदेश पठाउँदा मन भारी बनाउनु नपरोस्, किनकि उनलाई थाहा हुनेछ—देशमै पनि सपनाहरू पूरा गर्न सकिन्छ।
किनकि अन्ततः, मानिस संसारको जुनसुकै कुनामा पुगे पनि उसको मनले सधैं खोज्ने कुरा एउटै हुन्छ—आफ्नो माटोको सूगन्ध, आफ्नो भाषाको मिठास, आफ्नो गाउँको बाटो, आफ्नो देशको माया। र त्यो माया जहाँ पाइन्छ, त्यो ठाउँको नाम हो – नेपाल।
हामी साँच्चै यस्तो देशमा बाँचिरहेका छौँ जहाँ आज सफलता धेरै पटक पासपोर्ट र विमानको टिकटले मापन गरिन्छ। तर सायद भविष्यको नेपाल त्यो दिन सुरु हुनेछ—जब कुनै युवा गर्वका साथ भन्छ—“म देश छोड्न होइन, देश बनाउन जन्मिएको हुँ।”


प्रतिकृया दिनुहोस्