दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित
काठमाडौं, जेठ १६ — युवा ज्योतिषी अनुसन्धानकर्ता, संगठन अभियन्ता तथा सामाजिक व्यक्तित्व रविन पंगेनी दक्षिण एशियाली ज्योतिष महासंघको सातौं केन्द्रीय महासभाबाट सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव पदमा निर्वाचित भएका छन्।
काठमाडौंस्थित होटल पेन्सन वासनामा सम्पन्न महासभाले अध्यक्षमा डा. सहदेव विष्ट, कोषाध्यक्षमा आचार्य लक्ष्मण गौतम तथा सदस्यमा सामाजिक व्यक्तित्व एवं आध्यात्मिक अभियन्ता आरसी (रामचन्द्र) के.सी.लाई निर्वाचित गरेको छ।
महासभाले पंगेनीको नेतृत्व क्षमता, संगठन निर्माणमा पुर्याएको योगदान तथा ज्योतिष विज्ञानको विकासमा देखाएको सक्रिय भूमिकालाई मूल्याङ्कन गर्दै दक्षिण एशियाली स्तरको महासचिवको जिम्मेवारी प्रदान गरेको जनाएको छ।
कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत दक्षिण एशियाका विभिन्न राष्ट्रका ज्योतिषविद्, वास्तु विशेषज्ञ, पञ्चाङ्गविद् तथा आध्यात्मिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महासभाले ज्योतिष विज्ञानको संरक्षण, अनुसन्धान प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा युवा पुस्तामा ज्योतिषप्रतिको आकर्षण बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।
नवनिर्वाचित महासचिव पंगेनीले ज्योतिषलाई केवल परम्परागत विश्वासको विषयका रूपमा नभई अनुसन्धान, दर्शन, संस्कृति र आध्यात्मिक अध्ययनसँग जोडिएको ज्ञानको क्षेत्रका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताए। उनले दक्षिण एशियाली राष्ट्रहरूबीच ज्योतिषीय ज्ञान आदान–प्रदान, संयुक्त अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई थप प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका छन्।
विगत एक दशकभन्दा बढी समयदेखि ज्योतिष, वास्तु, सनातन संस्कृति संरक्षण तथा सामाजिक जागरणका क्षेत्रमा सक्रिय पंगेनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन, गोष्ठी तथा प्रशिक्षण कार्यक्रममार्फत ज्योतिषीय चेतना विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
उनले विभिन्न दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनहरूबाट “युवा तारा ज्योतिष अवार्ड”, “मन्दाकिनी अवार्ड”, “ज्योतिष ऋषि अवार्ड”, “पशुपतिनाथ अवार्ड”, “ज्योतिष रत्न”, “ज्योतिष भूषण”, “वास्तु भूषण” तथा “इण्डो–नेपाल एस्ट्रोलोजिकल एक्सिलेन्स अवार्ड” लगायतका सम्मान प्राप्त गरिसकेका छन्।
पंगेनीले ज्योतिष सम्बन्धी प्रकाशन तथा सम्पादन क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले ‘कादम्बिनी’का प्रधान सम्पादक तथा ‘मन्दाकिनी’का सम्पादकका रूपमा कार्य गर्दै ज्योतिषीय ज्ञानको प्रवर्द्धनमा योगदान पुर्याएका छन्।
युवा पुस्ताका प्रेरणादायी प्रतिनिधि
ज्योतिष क्षेत्रमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा चिनिएका पंगेनीले ज्योतिष, मनोविज्ञान, कानुन र समाजशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। उनले आधुनिक सञ्चार माध्यममार्फत वैदिक ज्ञानलाई जनसाधारणसम्म पुर्याउने अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन्।
विशेषगरी युवा वर्गलाई ज्योतिष, संस्कृत शिक्षा, पञ्चाङ्ग विज्ञान तथा सनातन संस्कृतिप्रति आकर्षित गराउन उनले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। महासंघका वरिष्ठ पदाधिकारीहरूले पंगेनीको नेतृत्वले संगठनलाई नयाँ ऊर्जा, अनुसन्धानमुखी दृष्टिकोण तथा अन्तर्राष्ट्रिय विस्तारको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
महासंघले आगामी दिनमा दक्षिण एशियाली राष्ट्रहरूबीच ज्योतिषीय अनुसन्धान, शैक्षिक सहकार्य, प्राचीन ग्रन्थ संरक्षण, डिजिटल अभिलेखीकरण तथा अन्तर्राष्ट्रियस्तरका सम्मेलन आयोजना गर्ने लक्ष्य लिएको छ। पंगेनीको नेतृत्वमा महासंघले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।
ज्योतिष विज्ञान, वास्तुशास्त्र, संस्कृत शिक्षा तथा सनातन सभ्यताको प्रवर्द्धनमा समर्पित पंगेनीको महासचिव पदमा भएको निर्वाचनलाई ज्योतिष क्षेत्रका लागि ऊर्जाशील, अनुसन्धानमुखी र दूरदर्शी नेतृत्वको उदयका रूपमा हेरिएको छ।
तस्बिर/समाचार स्रोतः राज कार्की।



प्रतिकृया दिनुहोस्