सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड

सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड

काठमाडौं। नेपालमा सुरक्षित, व्यवस्थित र दिगो आवास विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी सेप्टेम्बरमा ‘९औँ नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, हाउजिङ तथा रियल स्टेट क्षेत्रसँग सम्बन्धित संस्थाहरू र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा एक्स्पो सञ्चालन हुन लागेको हो।

दिगोपनाका लागि हरियाली (Greenery for Sustainability)’ भन्ने मूल नारासहित आयोजना हुने एक्स्पोले ‘आवासको अधिकार र व्यवस्थित शहरीकरण’ लाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार संविधानले नागरिकको मौलिक हकका रूपमा आवासको अधिकार सुनिश्चित गरेकाले सुरक्षित, व्यवस्थित र सर्वसुलभ आवास निर्माणका लागि एक्स्पो महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ। एक्स्पोले रियल स्टेट व्यवसायी, निर्माण क्षेत्रका विज्ञ तथा उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराउँदै नयाँ प्रविधि, नवप्रवर्तन र बजारको वास्तविक अवस्थाबारे जानकारी प्रदान गर्नेछ।

प्रदर्शनीमा एक सयभन्दा बढी स्टलहरू रहनेछन्। जहाँ आवासीय परियोजना, जग्गा विकास योजना, निर्माण सामग्री, फलाम, स्टिल, सिमेन्ट, इँटा, विद्युतीय उपकरण, आधुनिक फर्निचर, पाइप तथा फिटिङ्स, स्यानिटरी सामग्री, पेन्ट, सिरामिक्स, ग्लास, टायल्स, होम डेकोर सामग्री, नवीकरणीय ऊर्जा, बैंक तथा बीमा सेवासम्बन्धी उत्पादनहरू प्रदर्शन गरिनेछ। साथै भारत र मलेसियाबाट समेत सहभागिता रहने जनाइएको छ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले एक्स्पोले नेपालको रियल स्टेट तथा निर्माण क्षेत्रमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनका अनुसार उपभोक्ताले आफ्नो बजेट र आवश्यकताअनुसार उपयुक्त घर तथा जग्गा छनोट गर्ने अवसर प्राप्त गर्नेछन्।

उनले इन्जिनियर, आर्किटेक्ट तथा शहरी योजनाविद्हरूबीचको सहकार्यले नेपालमा आधुनिक, सुरक्षित र वातावरणमैत्री शहरीकरणको आधार निर्माण गर्न सहयोग पुग्ने बताए। एक्स्पो अवधिभर सम्बन्धित क्षेत्रका विज्ञहरूबाट उपभोक्तालाई प्रत्यक्ष परामर्श सेवा समेत उपलब्ध गराइनेछ।

आयोजकका अनुसार यो प्रदर्शनीले आवास तथा निर्माण क्षेत्रको विकाससँगै हरित, दिगो र योजनाबद्ध शहरीकरणको अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।