एमालेको ११औं महाधिवेशन : भक्तपुरमा ऐतिहासिक भीडको तयारी, सुरक्षा कडा!

एमालेको ११औं महाधिवेशन : भक्तपुरमा ऐतिहासिक भीडको तयारी, सुरक्षा कडा!

भक्तपुर, मंसिर २६ ।
नेकपा एमालेले भाेलि भक्तपुरमा सुरू हुन लागेको ११औं राष्ट्रिय महाधिवेशनलाई इतिहासकै भव्य र निर्णायक क्षणका रूपमा प्रस्तुत गर्दै जिल्लावासीलाई सहभागी हुन सार्वजनिक अपिल गरेको छ। सोहीसँगै भक्तपुरमा महाधिवेशनको ‘हाइप’ एकाएक चुलिएको छ— शहरभर उत्साह, सडकभर चहलपहल र सोशल मिडियाभर ‘भक्तपुर जाँदैछौं’ को लहर!

शनिबार सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी विशाल चौरमा हुने उद्घाटन समारोहका लागि एमाले भक्तपुरले सबैलाई सहभागी हुन आग्रह गरेको हो। पहिलोपटक भक्तपुरमा आयोजना हुँदै गरेको महाधिवेशनसँगै राजनीतिक वातावरण मात्र होइन, सांस्कृतिक र पर्यटन माहोल पनि एकैसाथ तातिएको छ।

जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले महाधिवेशनलाई “देश निर्माणको साझा अभियान” भन्दै सबैबाट साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।


सवारी चाप : बिहानदेखि नै भक्तपुरतिर भीडको ‘सुनामी’ 

देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुरमा आउने अनुमान गरिँदैछ।
जगातदेखि मनोहरा पुलसम्मका मुख्य सडक केही समय अवरुद्धसम्म हुन सक्ने बताइएपछि निजी सवारीसाधनलाई वैकल्पिक रुट प्रयोग गर्न अपिल गरिएको छ।

शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा ‘अनावश्यक सवारी नचलाउन’ समेत अनुरोध गरिएको छ। सुरक्षा निकायले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष रणनीति अपनाएको जनाइएको छ।


परम्परा, कला र संस्कृति झल्किने ‘ग्रान्ड स्टेज’ पहिलोपटक सार्वजनिक हुँदै

अध्यक्ष देउजाका अनुसार उद्घाटन समारोहका लागि तयार पारिएको मुख्य स्टेज परम्परागत नेवारी कला, भेषभूषा र सांस्कृतिक पहिचानको विशिष्ट नमूना बनेको छ।
यसले भक्तपुरको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।


भक्तपुरमा ‘फेस्टिवल भाइब्’ — युवादेखि जेन–जीसम्म रोमाञ्चित

आज जिल्ला कमिटीले प्रकाशित गरेको सार्वजनिक अपिलले भक्तपुरमा महाधिवेशनमय माहोल थप चुलिएको छ।
• विभिन्न राजनीतिक दलका प्रतिनिधि
• नागरिक समाज
• पेशागत संगठन
• युवायुवती तथा जेन–जी पुस्ता

सबैलाई सभ्य र मर्यादित रूपमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरिएको छ।

भक्तपुरमा यति ठूलो राजनीतिक–सांस्कृतिक भेला आयोजना हुनु स्वयंमा ऐतिहासिक मानिँदैछ।
अहिले भक्तपुर—उत्सवमय।
भोलि—रेकर्ड ब्रेक भीडको सम्भावना!