शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४७ तथा आस्था र निष्ठाको पावन पर्व छठ पर्व २०८३को यस हरियो-उज्यालो एवम् सुखद् अवसरमा ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय नगरी काठमाडौँ महानगरपालिका वडा नं. ६ (बौद्ध,जोरपाटी र आसपासका क्षेत्र) का सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, आमाबुबा, अभिभावक वर्ग, युवा साथीहरू, बौद्धिक व्यक्तित्वहरू तथा प्रिय विद्यार्थी भाइबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
उज्यालो, खुसी र आत्मीयताको प्रतीक दीपावली (तिहार) ले हाम्रा घरआँगन मात्र होइन, मनभित्रको अज्ञानता, वैमनस्य र निराशालाई हटाएर नयाँ आशा र सकारात्मकताको ज्योति फैलाओस्। तिहारका झिलिमिली बत्तीहरूले झैँ हाम्रो बौद्ध क्षेत्र र वडा नं. ६ लाई पनि सधैँ उज्यालो,सुरक्षित, स्वच्छ, व्यवस्थित र उदाहरणीय बनाउने हाम्रो सङ्कल्पमा यहाँहरूको निरन्तर साथ, सुझाव र सहयोगको अपेक्षा गर्दछु।
हाम्रो आफ्नै माटोको उपज, स्वाभिमान र सांस्कृतिक समृद्धिको प्रतीक नेपाल संवत् ११४७ को नयाँ वर्ष आगमनले हामी सम्पूर्णमा नयाँ सोच,सामाजिक एकता र नवीन ऊर्जा थपोस्। राष्ट्रिय संवत्का रूपमा रहेको नेपाल संवत्को मर्मलाई आत्मसात् गर्दै हाम्रा अमूर्त सांस्कृतिक सम्पदा,मठमन्दिर, गुम्बा, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण गर्दै आधुनिक एवम् प्रविधियुक्त वडा विकासतर्फ अघि बढ्न यो संवत्ले हामी सबैलाई प्रेरणा प्रदान गरोस्।
प्रकृति, सूर्यदेव र छठी मैयाको पूजा-आराधना गरी अत्यन्त निष्ठा, पवित्रता र अनुशासनका साथ मनाइने छठ पर्वले हामीलाई धैर्य, संयम,समानता र प्राकृतिक सन्तुलनको गहिरो सन्देश दिन्छ। नदी, पोखरी र वातावरणीय स्वच्छताको महत्त्व दर्साउने यस पावन पर्वले हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र पर्यावरणीय चेतनालाई अझ मजबुत बनाउनेछ भन्ने विश्वास लिएको छु।
विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र लगायतका पर्यटकीय स्थलहरू जोडिएको यस वडामा पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार, व्यवसाय र अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न हामी कटिबद्ध छौँ। त्यसैगरी, वडाभित्रका शैक्षिक संस्थाहरूको गुणस्तर सुधार, स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच, युवाहरूका लागि स्वरोजगार तथा खेलकुदका गतिविधिको प्रवर्द्धन गर्दै प्रतिस्पर्धी र सभ्य नागरिक तयार पार्न वडा कार्यालय सदैव तत्पर रहेको छ।
हाम्रा आदरणीय ज्येष्ठ नागरिकहरूको अमूल्य अनुभव र मार्गदर्शन, महिलाहरूको सक्रिय सहभागिता तथा सम्पूर्ण श्रमिक, व्यवसायी र युवा वर्गको योगदान नै हाम्रो वडाको समृद्धिको मुख्य आधार हो। पारदर्शी जनसेवा, जनउत्तरदायी प्रशासन र ढिलासुस्तीरहित सेवा प्रवाह सुनिश्चित गर्दै वडावासीको जीवनस्तर सहज बनाउन हामी पूर्ण निष्ठाका साथ समर्पित छौँ।
अन्त्यमा, यी पावन चाडपर्वहरूले हामी सम्पूर्ण वडावासी तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा एकापसमा भाइचारा, सहिष्णुता र आत्मीयता अझ प्रगाढ गरुन्। पुन: सम्पूर्णमा शुभ दीपावली, नेपाल संवत् ११४७ र छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
शुभकाङ्क्षी:
भुवन लामा
वडा अध्यक्ष
काठमाडौँ महानगरपालिका वडा नं. ६ कार्यालय
बौद्ध, काठमाडौँ।



प्रतिकृया दिनुहोस्