शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
अन्धकारमाथि प्रकाशको विजय, आपसी सद्भाव, भाइचारा र खुसीयालीको प्रतीकका रूपमा हर्षोल्लासका साथ मनाइने महाचाड शुभ दीपावली (तिहार), नेपालको आफ्नै मौलिक इतिहास र राष्ट्रिय संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ तथा प्रकृतिप्रतिको कृतज्ञता, निष्ठा र सूर्य उपासनाको महापर्व छठ पर्व २०८३ को यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आदरणीय बुबाआमा, दाजुभाइ,दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
हाम्रा संस्कृति, सभ्यता र चाडपर्वहरूले समाजलाई भावनात्मक रूपमा एकताको सूत्रमा बाँध्दै सामाजिक सद्भाव, सहिष्णुता र आपसी सहयोगको भावनालाई सुदृढ बनाउन ठूलो भूमिका खेलेका छन्। दीपावलीको यस उज्यालो पर्वले प्रत्येक नेपालीको घरपरिवारमा सुख, शान्ति,समृद्धि, धनधान्य र उज्यालो ल्याओस्। त्यसै गरी, नेपाल संवत् ११४७ ले हामी सबैमा नयाँ सोच, नयाँ उमङ्ग र सिर्जनात्मक ऊर्जाका साथ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।
हाम्रो अर्को गरिमामय महापर्व छठ पर्वमा षष्ठी माता (छटी माता) र प्रत्यक्ष देव सूर्य भगवान्को विधिपूर्वक पूजा-आराधना गरिन्छ। निष्ठा र शुद्धताको प्रतीक यस महापर्वमा छठी माताले हामी सबैको रक्षा गर्नुका साथै सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, दीर्घायु, प्रगतिको ढोका खोल्नुका साथै सर्वत्र समृद्धिको आशीर्वाद प्रदान गरुन् भन्ने गहिरो प्रार्थना गर्दछ।
यस सुअवसरमा, देशको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा रहनुभएका सम्पूर्ण उद्योगी, व्यवसायी, युवा उद्यमीहरू, व्यापारिक समुदाय, विभिन्न व्यावसायिक संघ-संस्थाका प्रतिनिधिहरू तथा निजी क्षेत्रका सम्पूर्ण महानुभावहरूमा विशेष शुभकामना अर्पण गर्दछु। नेपालको उद्योग, वाणिज्य र अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी सिर्जना गर्न र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन तपाईंहरूले पुर्याउनु भएको योगदान अतुलनीय छ। यी चाडपर्वहरूले हामी सबैको व्यावसायिक जीवनमा नयाँ ऊर्जा, उत्साह र प्रगतिको ढोका खोलोस् भन्ने कामना गर्दछु।
साथै, समाजलाई सही दिशा निर्देश गर्ने आदरणीय शिक्षाकर्मी, प्राज्ञिक व्यक्तित्व, विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरू, न्यायको क्षेत्रमा खट्नुहुने कानूनविद् तथा वकिलहरू, सत्य र तथ्य सूचना सम्प्रेषण गरी समाजलाई सुसूचित गर्ने सम्पूर्ण सञ्चारकर्मी (पत्रकार) मित्रहरू,राष्ट्रसेवक कर्मचारीहरू तथा विभिन्न क्षेत्रमा अहोरात्र खट्नुहुने समस्त शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हामी सबैको साझा प्रयास र सहकार्यले मात्र मुलुकमा उद्योग, वाणिज्य र समग्र आर्थिक क्षेत्रको दिगो विकास तथा समृद्धि हासिल हुन सक्छ। आउनुहोस्, यी पर्वहरूले हामीमा थप प्रेरणा र एकता प्रदान गरुन्।
डा. गोपालप्रसाद तिवारी
महानिर्देशक
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)



प्रतिकृया दिनुहोस्