शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना
अन्धकारमाथि प्रकाशको विजय, आपसी सद्भाव, भाइचारा र खुसीयालीको प्रतीकका रूपमा हर्षोल्लासका साथ मनाइने महाचाड शुभ दीपावली (तिहार), नेपालको आफ्नै मौलिक इतिहास र राष्ट्रिय संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ तथा प्रकृतिप्रतिको कृतज्ञता, निष्ठा र सूर्य उपासनाको महापर्व छठ पर्व २०८३ को यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आदरणीय बुबाआमा, दाजुभाइ,दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
हाम्रा संस्कृति, सभ्यता र चाडपर्वहरूले समाजलाई भावनात्मक रूपमा एकताको सूत्रमा बाँध्दै सामाजिक सद्भाव, सहिष्णुता र आपसी सहयोगको भावनालाई सुदृढ बनाउन ठूलो भूमिका खेलेका छन्। दीपावलीको यस उज्यालो पर्वले प्रत्येक नेपालीको घरपरिवारमा सुख, शान्ति,समृद्धि, धनधान्य र उज्यालो ल्याओस्। त्यसै गरी, नेपाल संवत् ११४७ ले हामी सबैमा नयाँ सोच, नयाँ उमङ्ग र सिर्जनात्मक ऊर्जाका साथ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।
हाम्रो अर्को गरिमामय महापर्व छठ पर्वमा षष्ठी माता (छटी माता) र प्रत्यक्ष देव सूर्य भगवान्को विधिपूर्वक पूजा-आराधना गरिन्छ। निष्ठा र शुद्धताको प्रतीक यस महापर्वमा छठी माताले हामी सबैको रक्षा गर्नुका साथै सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, दीर्घायु, प्रगतिको ढोका खोल्नुका साथै सर्वत्र समृद्धिको आशीर्वाद प्रदान गरुन् भन्ने गहिरो प्रार्थना गर्दछु।
यसै अवसरमा, देशको आर्थिक मेरुदण्डका रूपमा रहेका सम्पूर्ण युवा उद्यमीहरू, व्यावसायिक जगतका प्रतिनिधिहरू, व्यापारी, समाजसेवीहरू,राष्ट्रसेवक कर्मचारीहरू तथा विभिन्न क्षेत्रमा अहोरात्र खट्नुहुने सम्पूर्ण शुभचिन्तकहरूमा विशेष शुभकामना अर्पण गर्दछु। स्वदेशमै केही गर्नुपर्छ भन्ने अठोट बोकेर उद्यमशीलता र समाजसेवामा लाग्नुभएका सबैको प्रयासले मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम हुने विश्वास लिएको छु। यी चाडपर्वहरूले हामी सबैको व्यावसायिक जीवनमा नयाँ ऊर्जा, सफलता र प्रगतिको ढोका खोल्नुका साथै देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैलाई प्रेरणा प्रदान गरोन्।
राजेन्द्र पराजुली
युवा उद्यमी तथा समाजसेवी



प्रतिकृया दिनुहोस्