सांस्कृतिक संस्थान र काठमाडौँ महानगरबीच सङ्गीत प्रशिक्षणसम्बन्धी द्विपक्षीय समझदारी

सांस्कृतिक संस्थान र काठमाडौँ महानगरबीच सङ्गीत प्रशिक्षणसम्बन्धी द्विपक्षीय समझदारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ अभियानअन्तर्गत सामुदायिक विद्यालयहरूमा लागु गरिएको ‘पुस्तकरहित शुक्रबार’ (बुक फ्रि फ्राइडे) कार्यक्रमलाई थप प्रभावकारी बनाउन सांस्कृतिक संस्थान र महानगरपालिकाबीच सम्झौता भएको छ। कात्तिक १६ गते आयोजित एक विशेष कार्यक्रमका बीच दुई निकायबीच समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको हो। यस सम्झौताअनुसार महानगरभित्रका विद्यालयहरूमा सङ्गीतका विभिन्न विधा जस्तै गायन, वादन र नृत्यको व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले तत्कालीन महानगर प्रमुख एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको अवधारणामा यो गौरवको योजना सुरु गरिएको थियो। सरकारी निकायहरूबीचको आपसी सहकार्य (G to G) मोडेलमा आव २०८१/८२ देखि सुरु भएको सङ्गीत तथा नाटक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिँदै आव २०८३/८४ का लागि पुनः यो सम्झौता गरिएको हो।

उक्त समझदारी पत्रमा सांस्कृतिक संस्थानका तर्फबाट महाप्रबन्धक किरण बाबु पुन र महानगरपालिकाको तर्फबाट शिक्षा विभाग प्रमुख नमराज ढकालले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा महानगरका शिक्षा विभागका वरिष्ठ अधिकारीहरू र संस्थानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समारोहमा बोल्दै दुवै पक्षका प्रतिनिधिहरूले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत सञ्चालित गायन, वादन र नृत्य प्रशिक्षणलाई विगतका वर्षहरूभन्दा अझ परिस्कृत र प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। (समाचार तस्बिर स्रोत: सांस्कृतिक संस्थान)