विक्रमशिला हिन्दी विद्यापीठद्वारा डा. शशि भूषण कुमारलाई ‘विद्यासागर (डी.लिट्)’ को मानार्थ उपाधि प्रदान
वैशाली (भारत) / मानवअधिकार पत्रकारिता, शिक्षा, साहित्य, हिन्दी भाषा तथा भारतीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउनुभएका बिहारको वैशाली जिल्लाका वरिष्ठ पत्रकार एवं शिक्षाविद् डा. शशि भूषण कुमारलाई विक्रमशिला हिन्दी विद्यापीठ, ईशीपुर–बाराहाटले ‘विद्यासागर (डी.लिट्)’ को मानार्थ उपाधिबाट सम्मानित गरेको छ।
विद्यापीठको २७औँ वार्षिक अधिवेशन तथा सम्मान समारोहमा उहाँलाई उक्त उपाधि प्रदान गरिएको हो। यस उपलब्धिले वैशाली र बिहारसँगै पत्रकारिता तथा साहित्यिक क्षेत्रमा खुसीको वातावरण सिर्जना गरेको छ।
भागलपुर जिल्लाको ईशीपुरस्थित केजरीवाल धर्मशालामा सन् २०२६ नोभेम्बर १ मा आयोजित समारोहको अध्यक्षता विद्यापीठका कुलाधिपति रामजन्म मिश्रले गर्नुभएको थियो भने डा. प्रेमचन्द पाण्डेयले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। स्थानीय विधायक मुरारी पासवान तथा मञ्चासीन अतिथिहरूले दीप प्रज्वलन गरी समारोह उद्घाटन गर्नुभएको थियो। सो अवसरमा नेहा कुमारीले कुलगीत तथा स्वागत गीत प्रस्तुत गर्नुभएको थियो।
समारोहमा विद्यापीठका कुलसचिव डा. देवेन्द्रनाथ साहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सम्मान सत्रमा भारतका विभिन्न राज्यबाट सहभागी हिन्दी साहित्यकार तथा विद्वान्लाई विद्यासागर, विद्यावाचस्पति, साहित्य भूषण तथा कविरत्नलगायत उपाधिबाट सम्मानित गरिएको थियो। सोही क्रममा डा. कुमारलाई उहाँको बहुआयामिक सामाजिक, शैक्षिक, साहित्यिक तथा पत्रकारितासम्बन्धी योगदानको कदर गर्दै विद्यासागर (डी.लिट्) को मानार्थ उपाधि प्रदान गरिएको हो।
मानवअधिकार पत्रकारितालाई सामाजिक सरोकारसँग जोड़्न महत्वपूर्ण भूमिका
डा. शशि भूषण कुमार बिहारका वरिष्ठ पत्रकार, मानवअधिकारकर्मी, शिक्षाविद् तथा साहित्यिक–सांस्कृतिक गतिविधिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँ ‘ह्युमन राइट्स टुडे’ का सम्पादक तथा सार्क जर्नालिस्ट फोरम, बिहारका अध्यक्ष हुनुहुन्छ।
लामो समयदेखि उहाँ मानवअधिकार संरक्षण, सामाजिक न्याय, सीमान्तकृत तथा कमजोर वर्गको आवाजलाई सार्वजनिक मञ्च प्रदान गर्न र लोकतान्त्रिक मूल्यको सुदृढीकरणका लागि पत्रकारितामार्फत सक्रिय रहँदै आउनुभएको छ।
उहाँको पत्रकारिता समाचार प्रकाशनमा मात्र सीमित नभई समाजमा विद्यमान विसङ्गति, मानवअधिकार उल्लङ्घन, सामाजिक असमानता तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने कार्यमा केन्द्रित रहेको छ। सार्क राष्ट्रहरूको पत्रकारिता क्षेत्रमा मानवअधिकार पत्रकारितालाई सुदृढ बनाउन तथा पत्रकारबीच अन्तर्राष्ट्रिय सहकार्य, संवाद र सद्भाव प्रवर्द्धन गर्न पनि उहाँले निरन्तर प्रयास गर्दै आउनुभएको छ।
शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान
पत्रकारितासँगै शिक्षा क्षेत्रमा पनि डा. कुमारको उल्लेखनीय योगदान रहेको छ। उहाँ हाजीपुरस्थित टेगोर किड्स एन्ड हाइस्कुलका निर्देशक हुनुहुन्छ।
शिक्षालाई सामाजिक रूपान्तरणको सशक्त माध्यम मान्दै उहाँ विद्यार्थीमा नैतिक मूल्य, सामाजिक चेतना, भारतीय संस्कृति तथा मातृभाषाप्रति सम्मानको भावना विकास गर्नुपर्ने पक्षमा रहँदै आउनुभएको छ।
हिन्दी भाषा तथा साहित्यको प्रचारप्रसारका लागि पनि उहाँ विभिन्न साहित्यिक र सांस्कृतिक Mञ्चसँग आबद्ध हुनुहुन्छ। मातृभाषाको सम्मान,हिन्दी साहित्यको विकास तथा भारतीय सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्याउन उहाँ सक्रिय रहनुभएको छ।
वैशालीको ऐतिहासिक विरासतलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने प्रयास
लोकतन्त्रको प्रथम भूमि मानिने वैशालीको ऐतिहासिक, सांस्कृतिक तथा लोकतान्त्रिक विरासतलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु पनि डा. कुमारको विशिष्ट पहिचान हो।
बिहारको गौरवशाली परम्परा, ऐतिहासिक सम्पदा तथा सांस्कृतिक उपलब्धिलाई व्यापक पहिचान दिलाउन उहाँ निरन्तर प्रयासरत रहनुभएको छ।
पत्रकारिता, साहित्य र शिक्षा समाजलाई सकारात्मक दिशा दिने महत्वपूर्ण माध्यम भएको उहाँको धारणा छ। यही मान्यताका साथ उहाँ सामाजिक सरोकार, मानवीय मूल्य, राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय सद्भावलाई आफ्ना कार्यको आधार बनाउँदै आउनुभएको छ।
डा. शशि भूषण कुमार यसअघि पनि पत्रकारिता, मानवअधिकार, शिक्षा, साहित्य तथा संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित भईसक्नुभएको छ।
उहाँलाई यसअघि ‘विद्यावाचस्पति’ सम्मानसमेत प्रदान गरिएको थियो। यसैगरी मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै साउथ अमेरिकन वेस्टर्न युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरेको थियो।
विक्रमशिला हिन्दी विद्यापीठबाट प्राप्त ‘विद्यासागर (डी.लिट्)’ को मानार्थ उपाधि उहाँको लामो सामाजिक तथा बौद्धिक योगदानको सम्मानस्वरूप अर्को महत्वपूर्ण उपलब्धि बनेको छ।
वार्षिक अधिवेशनमा विभिन्न राज्यका साहित्यकार सम्मानित, नयाँ कार्यकारिणी गठन
विद्यापीठको २७औँ वार्षिक अधिवेशनमा भारतका विभिन्न राज्यबाट सहभागी साहित्यकारलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा देहरादुनका बीके डोभाल, नागपुरका जमिन अन्सारी, कोलकाताका रामकुमार झा, वैशालीका डा. शशि भूषण कुमार,भागलपुरका विनोदकुमार राय, गोपाल नारसन, हाजीपुरका रविन्द्रकुमार रतन तथा हरिद्वारका डा. आनन्द भारद्वाजलगायत मध्यप्रदेश,उत्तरप्रदेश, हरियाणा र दिल्लीका साहित्यकार रहनुभएको थियो।
सो अवसरमा विद्यापीठको नयाँ कार्यकारिणीसमेत सर्वसम्मतिले गठन गरिएको थियो। देवेन्द्रनाथ साहलाई कुलाधिपति, डा. प्रेमचन्द पाण्डेयलाई कुलपति तथा प्रीतमकुमारलाई कुलसचिव चयन गरिएको थियो।
समारोहको तेस्रो सत्रमा कवि सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा महेन्द्र निशाकर, बीके डोभाल, जमिल अन्सारी, विनोदकुमार राय,जयन्त जलद, सच्चिदानन्द किरण, रामकुमार झा निकुञ्ज, सुदामा महतो, योगेश कौशल, डा. इन्दुभूषण मिश्र, देवेन्दु तथा नेहा कुमारीलगायत दुई दर्जनभन्दा बढी कविले आफ्ना मौलिक रचना वाचन गर्नुभएको थियो।
डा. प्रेमचन्द पाण्डेयले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम समापन भएको थियो।
डा. शशि भूषण कुमारलाई विद्यासागर (डी.लिट्) को मानार्थ उपाधि प्रदान गरिएपछि देश तथा विदेशका पत्रकार, साहित्यकार, शिक्षाविद् र सामाजिक कार्यकर्ताले खुसी व्यक्त गर्दै बधाई दिएका छन्।
बधाई दिनेमा श्रीलङ्काका पत्रकार राहुल समान्ता र अतिला कोठलावाला, नेपालका पत्रकार राजु लामा, बङ्गलादेशका पत्रकार अब्दुल रहमान, भुटानका बाम्ची, अमेरिकाका डा. मृदुल कीर्ति, कतारका शालिनी वर्मा र विनीता कँवर, लन्डनका वन्दना खुराना र तेजेन्द्र शर्मा,बहराइनका राममणि तिवारी, अस्ट्रेलियाकी सुनीता शर्मा, थाइल्यान्डका सुनील सेतपाल, नेदरल्यान्डका रामा तक्षक तथा क्यानडाकी स्नेह ठाकुरलगायत रहनुभएको छ।
उहाँहरूले उक्त सम्मानलाई डा. कुमारको वर्षौंको सङ्घर्ष, समर्पण, कर्मठता तथा समाजप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिँदै आगामी दिनमा पनि मानवअधिकार पत्रकारिता, शिक्षा, साहित्य, हिन्दी भाषा तथा भारतीय संस्कृतिको प्रवर्द्धनमा उहाँको योगदान निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ।
डा. शशि भूषण कुमारको यो उपलब्धिले पत्रकारिता सामाजिक जिम्मेवारीसँग, शिक्षा मानवीय मूल्यसँग र साहित्य सांस्कृतिक चेतनासँग जोडिँदा त्यसको प्रभाव समाजको सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने सन्देश दिएको छ। (तस्वीर : प्रकाश सिलवाल रासास)


