शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: खडानन्द भट्ट, प्रबन्ध निर्देशक, मिडिया ठाँटी प्रा.लि.
काठमाडौँ/सम्पादकीय: नेपालीहरूको दोस्रो ठूलो महान् पर्व शुभ दीपावली (तिहार) २०८३ को पावन अवसरमा मिडिया ठाँटी प्रा.लि. तथा ‘ठाँटी खबर’ परिवारका तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी, आदरणीय विज्ञापनदाता, पाठक वर्ग, शुभचिन्तक एवं सर्वपक्षीय सरोकारवालाहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
अध्यारैअध्यारोमा उज्यालोको किरण छर्दै आउने तिहार पर्वले हाम्रा लोकसंस्कृति, पारिवारिक आत्मीयता र प्रकृतिप्रतिको अगाध प्रेमलाई उजागर गर्दछ। तिहारको प्रथम दिन सन्देशवाहक मानिने कागको पूजा गरी काग तिहार मनाइन्छ। सूचना र सन्देश प्रवाहको माध्यम कागको पूजासँगै हामी सञ्चारकर्मीहरूलाई सत्य र तथ्यपूर्ण सूचना जनतामाझ पुर्याउने थप प्रेरणा मिल्दछ।
त्यस्तै, दोस्रो दिन मानवजातिको निष्ठावान् साथी मानिने कुकुरको पूजा गरी कुकुर तिहार मनाइन्छ। कुकुरले दर्शाउने स्वामीभक्ति र सुरक्षाको भावनाले समाजमा पारस्परिक विश्वास, समभाव र सुरक्षाको सन्देश प्रवाह गर्दछ।
तिहारको तेस्रो तथा सबैभन्दा महत्त्वपूर्ण दिन धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइन्छ। घर-आँगन सफा सुग्घर गरी दिपोत्सव गर्दै लक्ष्मी भित्र्याइने यस दिनले हरेक नेपालीको घरमा समृद्धि, शान्ति र उज्यालो भित्र्याओस् भन्ने हाम्रो हार्दिक चाहना छ। यसै दिन साँझ खेलिने भैलोले सम्पूर्ण समाजलाई सांस्कृतिक एकताको सूत्रमा बाँध्ने कार्य गर्दछ।
चौथो दिन कृषियुगको मुख्य आधार मानिने गाई र गोवर्धन पर्वतको पूजा गरी प्रकृतिप्रतिको आभार व्यक्त गरिन्छ। यसै दिन नेवार समुदायमा आफ्नो आत्मालाई पवित्र बनाउने र आत्मसम्मान बढाउने उद्देश्यका साथ ‘म्ह पूजा’ गरिन्छ। साथै देउसीको सुमधुर धुनले गाउँ-शहर गुञ्जायमान भई आपसी भाइचारा र खुसी बाँड्ने परम्पराले नेपाली मौलिकतालाई विश्वसामु चिनाएको छ।
तिहारको अन्तिम तथा पावन दिन भाइटीका हो, जसले दाजुभाइ र दिदीबहिनीबीचको पवित्र, अटुट र अगाध स्नेहलाई उजागर गर्दछ। सप्तरंगी टीका, मखमली र सयपत्रीको माला लगाएर दीर्घायु र समृद्धिको कामना गरिने यस पर्वले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।
“हाम्रा सनातनी पर्वहरू केवल परम्परा मात्र होइनन्, यी त आपसी सद्भाव, एकता र खुसी साटासाट गर्ने माध्यम हुन्। मिडिया ठाँटी प्रा.लि. र ठाँटी खबरलाई आजको स्थानसम्म पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा आम नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा दीपावलीको यो उज्यालोले नयाँ आशा, उत्साह र सफलता लिएर आओस्। २०८३ सालको तिहारले हामी सबैमा सुख, शान्ति र समृद्धि छाओस्, हार्दिक शुभकामना!”
खडानन्द भट्ट
प्रबन्ध निर्देशक, मिडिया ठाँटी प्रा.लि.
एवं ‘ठाँटी खबर’ परिवार



प्रतिकृया दिनुहोस्