नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन

नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन

काठमाडौं, ११ कात्तिक । प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीले समाजमा देखापर्ने जस्तोसुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालन गर्न कडा निर्देशन दिनुभएको छ। नजिकिँदै गरेका महान चाडपर्वहरू तिहार, नेपाल संवत् र छठलगायतका पर्वहरूलाई लक्षित गर्दै नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित विशेष सुरक्षा निर्देशनात्मक सम्बोधनका क्रममा उहाँले नागरिकका गुनासोको उचित सम्बोधन गरी पूर्ण रूपमा सेवामा समर्पित हुन मातहतका प्रहरी अधिकारीहरूलाई ताकीद गर्नुभएको हो।

चाडपर्वलक्षित विशेष सुरक्षा रणनीति र सवारी दुर्घटना न्यूनीकरण महानिरीक्षक कार्कीले चाडपर्वका बेला हुनसक्ने चोरी, लुटपाटलगायतका आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा योजना लागू गर्न निर्देशन दिनुभयो। सवारी दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक चेकजाँच, मादक पदार्थ तथा लागूऔषध सेवन (मापसे/लापसे) र ओभरलोड नियन्त्रणमा कडाइ गर्दै यात्रुहरूको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवालासँग समन्वय गर्न उहाँको जोड थियो। साथै, जुवातास, अवैध पटका ओसारपसार र सामाजिक सद्भाव बिगार्ने तत्वहरूमाथि कडा निगरानी राख्न स्पष्ट पारिएको छ।

नेपाल प्रिमियर लिग (NPL) को सुरक्षा र अनलाइन बेटिङमाथि कडा निगरानी काठमाडौंमा सञ्चालन भइरहेको ‘नेपाल प्रिमियर लिग’ (NPL) को सुरक्षा व्यवस्थापनमा कुनै पनि त्रुटि हुन नदिन उहाँले विशेष निर्देशन दिनुभयो। खेल अवधिभर हुनसक्ने गैरकानुनी ‘अनलाइन बेटिङ’ तथा सट्टेबाजी नियन्त्रणका लागि उपलब्ध आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन उहाँले कडा चेतावनी दिनुभएको छ।

मौसम जोखिम र आपतकालीन पूर्वतयारी आगामी बिहीबारदेखि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हावाहुरी र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी उच्च सतर्कताका साथ प्रहरी टोली परिचालन गर्न उहाँले निर्देशन दिनुभयो। यसका साथै होल्डिङ सेन्टरहरूमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने अपराध रोक्न संवेदनशील भएर काम गर्न भनिएको छ।

व्यावसायिक अनुशासन र सांगठनिक शुद्धीकरण सामाजिक सञ्जालको प्रयोगमा संयमित र संवेदनशील बन्न आग्रह गर्दै महानिरीक्षक कार्कीले गैरव्यावसायिक वा अनुशासनहीन कार्यमा संलग्न प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा छुट नदिइने र कानुनी कारबाही गरिने प्रस्ट पार्नुभयो। प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई आफ्ना मातहतका क्षेत्रको नियमित अनुगमन गरी तल्लो तहका प्रहरीको मनोबल उच्च राख्दै उत्कृष्ट सेवा प्रवाह गर्न नवीन कार्ययोजना ल्याउनसमेत उहाँले आह्वान गर्नुभएको छ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) सुशिल सिंह राठौर, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (DIG) अबि नारायण काफ्ले तथा सातै प्रदेशका प्रहरी प्रमुखहरू, जिल्ला प्रहरी परिसर तथा मुद्दा चल्ने सम्पूर्ण मातहत निकायका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।