देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी क्रिकेट ग्राउण्ड नजिकको टहरामा जुवा (ओखर) खेलिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने नुवाकोट घर भएकी ३३ वर्षीया अन्जली पुडासैनीसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५५ रूपैयाँ र ओखर ११ थानसहित पक्राउ गरेको हो ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-१७ बालग्राम बस्ने विनोद पोखरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय विक्रम गिरीसहित ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, डोल्पाको ठुलीभेरी नगरपालिका-७ जुफाल बजार बस्ने ४२ वर्षीय धनलाल बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा बोहरासमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुफालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ हजार ६ सय ३० रूपैयाँ, तास १ सय ५९ पत्ति र कौडा ४५ थानसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



प्रतिकृया दिनुहोस्