नेपाल–भारत उद्योग वाणिज्य संघ (नीकी) को ३२औँ साधारण सभा सम्पन्न

नेपाल–भारत उद्योग वाणिज्य संघ (नीकी) को ३२औँ साधारण सभा सम्पन्न

 

काठमाडौँ, २०८३ असोज २९ गते बिहीबार। नेपाल–भारत उद्योग वाणिज्य संघ (नीकी) को ३२औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भयो। नेपाल र भारतबीच उद्योग, व्यापार तथा लगानीको क्षेत्रमा पहल गर्नुका साथै नेपाल र भारतबीचको औद्योगिक एवं व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक उन्नतिमा योगदान गर्ने उद्देश्यका साथ प्रभाकर शम्शेर ज.ब. राणाको अगुवाइमा नेपाली तथा भारतीय लगानीका उद्योगी व्यवसायीहरूको संयुक्त प्रयासमा सन् १९९३ मा तदर्थ समिति गठन भई सुरु भएको द्विदेशीय उद्योग वाणिज्य संघको रूपमा संघ स्थापनाकालदेखि क्रियाशील रहँदै आएको छ।

३०औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिको पदावधि पूरा भएपछि ३२औँ वार्षिक साधारण सभाबाट आगामी २ वर्षको कार्यकालका लागि संघको नयाँ कार्यसमिति पनि यो ३२औँ साधारण सभाबाट कुणाल कयालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिसर्वसम्मत निर्वाचित गरेको छ। संघको विधानबमोजिम संघका साधारण सदस्यहरूमध्येबाट निर्वाचित अध्यक्षले ३ जना सदस्यहरूलाई कार्यसमितिमा मनोनीत गर्ने रहेको छ भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट २ जना उपाध्यक्ष, १ जना महासचिव र १ जना कोषाध्यक्ष मनोनीत गर्नेछ।

संघको वार्षिक साधारण सभाको बन्द सत्रमा संघका महासचिव राजन शर्माले संघले वर्षदिनभरि गरेका विभिन्न कार्यहरू एवं प्रयासहरूसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने संघका कोषाध्यक्ष किरण मल्लले संघको वार्षिक आय-व्यय तथा लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभयो। उक्त दुवै प्रतिवेदनहरूमाथि सदस्यहरूले छलफल एवं विचारहरू व्यक्त गर्दै सर्वसम्मतिबाट दुवै प्रतिवेदन पारित गरियो।

त्यस्तै संघको ३२औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रको उद्घाटन परराष्ट्र मन्त्री शिशिर खनालले गर्नुभयो भने प्रमुख अतिथिको मन्तव्यमा मन्त्री खनालले नेपालको भारतसँगको पारस्परिक सम्बन्ध अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै द्विपक्षीय लगानी प्रवद्र्धन तथा नेपालको आर्थिक विकासमा पनि भारतीय लगानी, प्रविधि, ज्ञान, सीपको भूमिका महत्त्वपूर्ण नै रहेको बताउँदै यसका लागि नेपाल–भारत उद्योग वाणिज्य संघले विगत ३३ वर्षदेखि गर्दै आएको प्रयास, भूमिकाको प्रशंसा गर्नुभयो; जसको फलस्वरूप आज नेपालमा भारतीय लगानीका अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालभित्रै उत्पादन गर्ने उद्योगहरू नेपालमै स्थापना भई अर्थतन्त्र एवं रोजगारीको क्षेत्रमा योगदान गर्दै आइरहेका छन्।

उद्घाटन सत्रको सभापतिको मन्तव्यको क्रममा संघका अध्यक्ष सुनिल के.सी.ले आफ्नो २ वर्षे कार्यकालमा नेपालको औद्योगिक वातावरणलाई थप सकारात्मक बनाउने, थप लगानीलाई सुनिश्चित गर्ने तथा नेपालको ऊर्जा एवं जनशक्ति विकासको क्षेत्रमा डटेर काम गरेको बताउनुभयो। सो क्रममा सङ्घीय सरकारमा रहेका विभिन्न दलका नेतृत्व लगायत उद्योग एवं व्यावसायिक जगतका व्यक्तित्वहरूको साथ र योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिका सदस्यहरूलाई सफल, प्रभावकारी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।

साधारण सभाको उद्घाटन सत्रमा विशेष वक्ताको रूपमा भारतीय दूतावासका निमित्त प्रमुख डा. राकेश पाण्डेले संघको इतिहास अत्यन्त गर्विलो रहेको र यसमा आबद्ध सदस्यहरूको आर्थिक एवं लगानीको क्षेत्रमा भारतीय पक्षहरूसँगको सहकार्य र सद्भाव अत्यन्त प्रशंसनीय रहेको बारे चर्चा गर्नुभयो। संघले यो १ वर्षको अवधिमा भारतीय दूतावाससँग पनि अत्यन्त राम्रो, सौहार्दपूर्ण र परिणाममुखी सहकार्य गरेको आफूले पाएको बताउँदै आउने दिनमा पनि यो सहकार्य यस्तै राम्रो र फलदायी रहने विश्वास व्यक्त गर्नुभयो।

अर्का विशेष वक्ता भारतका लागि पूर्व नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले नेपाल–भारत बीचको आर्थिक सम्बन्धका विभिन्न आयामहरूका बारेमा चर्चा गर्नुभयो। डा. शर्माले आफू राजदूतका रूपमा भारतमा कार्यरत रहँदा भारतीय अर्थतन्त्रले गरेको विकास र विकासप्रति जनस्तरमा रहेको चाहनालाई नियालेर बुझ्ने अवसर प्राप्त भएको भन्दै राजनीतिक रूपमा भारत जति परिपक्व र स्थिर रहेको छ, त्यो नै पछिल्लो समय भारतीय अर्थतन्त्रको कायापलट हुनुमा प्रमुख कारकको रूपमा रहेकाले अबका दिनमा नेपालले पनि आर्थिक क्रान्ति अथवा अर्थतन्त्रको सुदृढीकरणका लागि भारतीय अभ्यास मार्गदर्शक हुन सक्ने बताउनुभयो भने आर्थिक क्षेत्रको उत्थानमा पनि भारतीय लगानी, सीप, स्रोत अत्यन्त सहायक सिद्ध हुने बताउनुभयो। लगानीका लागि ऊर्जा, सूचना प्रविधि, पर्यटन, जनशक्ति विकास लगायतका क्षेत्रमा भारतीय उद्यमीहरूसँगको सहकार्य नेपालका लागि फलदायी हुने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पनि नेपाल–भारत उद्योग वाणिज्य संघले यसको स्थापनाकालदेखि जे जस्तो भूमिका नेपालको आर्थिक विकासका लागि निभाउँदै आएको छ, त्यो अहिले पनि निरन्तर नै भइरहेको आफूले पाएको बताउनुभयो। भारत नेपालको नजिकको छिमेकी मुलुक मात्र नभई नेपालको विकासका लागि पनि अनन्य मित्र, सहयोगी रहेको र यो दुई देश बीचको आर्थिक सामाजिक एवं पारस्परिक सम्बन्ध सुदृढ बनाउन नेपाल–भारत उद्योग वाणिज्य संघको प्रयास, यसको भूमिका अनि यसका नेतृत्व लगायत सचिवालय परिवारले निर्वाह गर्दै गरेको प्रयास अत्यन्त सकारात्मक रहेको बताउँदै नयाँ कार्यसमितिका अध्यक्ष लगायत सदस्यज्यूहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा नेपाल र भारत बीचको आर्थिक व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने कार्यमा महासंघ पनि सहकार्य गर्न तत्पर रहेको बताउनुभयो।

उद्घाटन सत्रमा मन्तव्य राख्दै विशेष अतिथिको रूपमा रहेकी सांसद एवं संघकी सदस्य विदुषी राणाले संघको सदस्यको रूपमा संघको प्रयास आफूले अत्यन्त सकारात्मक नै पाएको अभिव्यक्ति दिँदै उद्योग व्यवसायको क्षेत्रमा उद्योगीहरूले भोग्नुपरेका कतिपय समस्याहरू समाधानमा संघको प्रयास र सहयोग अत्यन्त उत्साहजनक रहेको बताउँदै नयाँ निर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो।

संघका उपाध्यक्ष गौरव गोयलले संघको निमन्त्रणालाई स्वीकार गरी उपस्थिति हुनुभएका प्रमुख अतिथि, विशेष अतिथि एवं सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।