कुमारी बैंक र NIMBUZZ सम्झौता : मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा उपलब्ध
कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (NIMBUZZ) बीच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ।
उक्त सहकार्यसँगै NIMBUZZ का अन्तर्राष्ट्रिय डेटा (eSIM) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट (International Driving Permit – IDP) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ। यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ्ग एप मार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा eSIM प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिटका लागि आवेदन दिन सक्नेछन्।
विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यावसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ। आजको डिजिटल युगमा अन्तर्राष्ट्रिय यात्रा गर्दा भरपर्दो इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातहरूको व्यवस्था अत्यन्त महत्वपूर्ण मानिन्छ । eSIM सेवाले ग्राहकहरूलाई विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्षम बनाउनेछ। त्यसैगरी, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो तथा व्यवस्थित बनाउँदै ग्राहकहरूलाई आवश्यक सेवा डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग पुर्याउनेछ।
यस सेवाको अर्को महत्वपूर्ण विशेषता भनेको ग्राहकहरूले eSIM तथा IDP सेवाको शुल्क कुमारी बैंक मोबाइल बैंकिङ्ग एपमार्फत नेपाली रुपैयाँ (NPR) मा नै भुक्तानी गर्न सक्ने सुविधा हो। यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ। यसबाट ग्राहकहरूको समय, लागत तथा श्रमको बचत हुनुका साथै अन्तर्राष्ट्रिय स्तरका सेवाहरू स्वदेशमै बसेर प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटिएम, ४० शाखारहित बैंकिङ्ग मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। कुमारी बैंकले प्रविधिमा आधारित आधुनिक सेवामार्फत ग्राहकहरूको बदलिँदो आवश्यकता सम्बोधन गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको छ। बैंकले यस सहकार्यले ग्रामीण, अर्ध–सहरी तथा सहरी क्षेत्रका ग्राहकहरूलाई समान रूपमा अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवाहरूमा पहुँच पुर्याउन सहयोग गर्ने तथा डिजिटल समावेशीकरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै, विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक सेवाहरूलाई एकीकृत डिजिटल माध्यमबाट उपलब्ध गराउँदै ग्राहकको समग्र अनुभवलाई थप उत्कृष्ट बनाउने अपेक्षा बैंकले गरेको छ।



प्रतिकृया दिनुहोस्