बुटवलमा जनचेतनाको सशक्त सन्देश : IGP दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रम सम्पन्न

बुटवलमा जनचेतनाको सशक्त सन्देश : IGP दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रम सम्पन्न

रूपन्देही, समाजमा बढ्दै गएका गम्भीर चुनौतीहरू न्यूनीकरण गर्ने उद्देश्यसहित बुटवलमा भव्य जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्यमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की रहनुभएको थियो। बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कार्यक्रममा आत्महत्या न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सडक दुर्घटना रोकथाम सम्बन्धी विशेष सचेतना कार्यक्रम गरिएको हो।

उत्कृष्ट टोलीलाई सम्मान

कार्यक्रमका अवसरमा Hack4Safety 2083 अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रशंसापत्र समेत वितरण गरिएको छ।

सामूहिक प्रयासको आवश्यकता

सम्बोधन गर्दै IGP कार्कीले भने,
“सडक दुर्घटना, लागूऔषध दुर्व्यसन र आत्महत्या आजको गम्भीर सामाजिक समस्या हुन्। यस्ता समस्याको समाधान प्रहरीको एकल प्रयासले मात्र सम्भव छैन।”

उहाँले सबै सरोकारवाला निकाय, स्थानीय तह, नागरिक समाज र युवाहरूको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। साथै प्रविधिको सही प्रयोगले अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

जनचेतनामूलक प्रस्तुति आकर्षणको केन्द्र

कार्यक्रममा एसिड आक्रमण, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या तथा बालविवाह सम्बन्धी नाटक, प्रस्तुति तथा पुनःस्थापित पीडितहरूको प्रेरणादायी अनुभवले सहभागीहरूलाई गहिरो प्रभाव पारेको थियो।

नेपाल प्रहरी केन्द्रीय संगीत विद्यालयको ब्याण्ड डिस्प्ले र Hack4Safety कार्यक्रमको भिडियो प्रस्तुति कार्यक्रमका विशेष आकर्षण बने।

शान्त, सुरक्षित र सचेत समाजतर्फ कदम

कार्यक्रमले विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणमा डिजिटल सुरक्षा, साइबर अपराध नियन्त्रण र सामाजिक सचेतनाको सशक्त सन्देश प्रवाह गरेको छ।

“शान्ति र सुरक्षा सबैको साझा जिम्मेवारी हो” भन्ने सन्देशसहित बुटवलको कार्यक्रमले सकारात्मक परिवर्तनतर्फ प्रेरणा दिएको छ।