त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रा सहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रा सहित २ जना पक्राउ

काठमाडौं, अन्तर्राष्ट्रिय उडानमार्फत अवैध रूपमा विदेशी मुद्रा लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय यो योउलुङ (YO YOULONG) रहेका छन्।

विमानस्थलमै नियन्त्रण

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले प्रस्थान ह्यान्ड व्यागेज चेकिङ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कतार एयरवेजमार्फत कतार जान लागेका बेचन मियाको साथबाट कतारी रियाल ४२ हजार ४ सय र चाइना ईस्टर्न एयरलाइन्समार्फत चीन जान लागेका YO YOULONG को साथबाट अमेरिकी डलर ७ हजार ५ सय बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धान जारी

बरामद गरिएको विदेशी मुद्राबारे आवश्यक अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

अवैध रूपमा ठूलो मात्रामा विदेशी मुद्रा ओसारपसार गर्न नपाइने नियम कडाइका साथ कार्यान्वयन भइरहेको प्रहरीको भनाइ छ।