शोभा अधिकारीको प्रेरणादायी कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ सार्वजनिक, साहित्यमार्फत सकारात्मक सोचको सन्देश

शोभा अधिकारीको प्रेरणादायी कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ सार्वजनिक, साहित्यमार्फत सकारात्मक सोचको सन्देश

काठमाडौं । सर्जक शोभा अधिकारीको प्रेरणादायी कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ सार्वजनिक गरिएको छ। जीवनमा सफलता, आत्मविश्वास र सकारात्मक सोचको महत्व उजागर गर्ने उक्त पुस्तक शनिबार काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वक्ताहरूले पुस्तकले पाठकलाई जीवनप्रति आशावादी दृष्टिकोण विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। लेखक शोभा अधिकारीले मानव जीवनमा प्रेरणाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पुस्तकलाई जीवनयात्रामा मार्गदर्शन गर्ने ‘औषधि’का रूपमा प्रस्तुत गरेको बताइन्।

कृतिमाथि समीक्षा गर्दै समीक्षक डा. नवराज खतिवडाले पुस्तकलाई प्रेरणादायी तथा जीवन उपयोगी कृति भएको उल्लेख गरे। उनले यसले पाठकलाई सकारात्मक सोच र लक्ष्यप्रतिको प्रतिबद्धतामा उत्प्रेरित गर्ने धारणा राखे।

कार्यक्रममा एलपी भानु शर्मा, पुष्पराज पौडेल, दयाहाङ राई, शशि थापा पण्डित लगायतले साहित्यले समाजमा सकारात्मक चेतना प्रवाह गर्ने माध्यमका रूपमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

यसअघि लघुकथाकृति प्रकाशित गरिसकेकी शोभा अधिकारीको यो दोस्रो कृति हो। शिखा बुक्सद्वारा प्रकाशित पुस्तकले पाठकलाई आत्मविकास, प्रेरणा र सफलताको मार्गतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

साहित्य, प्रेरणा र सकारात्मक सोचलाई एकै सूत्रमा बाँध्ने प्रयासस्वरूप प्रकाशित यो कृति नेपाली साहित्यमा प्रेरणामूलक लेखनको थप सशक्त योगदानका रूपमा हेरिएको छ।