स्पामा बालिकामाथि जबरजस्ती अनैतिक कार्य गराएको आरोपमा सञ्चालिका पक्राउ

स्पामा बालिकामाथि जबरजस्ती अनैतिक कार्य गराएको आरोपमा सञ्चालिका पक्राउ

ललितपुर, ललितपुरको सानेपास्थित एक स्पा सेन्टरबाट बालिकालाई प्रलोभनमा पारेर जबरजस्ती अनैतिक कार्य गराएको आरोपमा स्पा सञ्चालिका पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महानगरपालिका–२ सानेपा, अरुणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापीकी सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर (सुमन कुमाल) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार स्पा सेन्टरमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभन देखाई स्पामा आउने ग्राहकहरूको चाहनाअनुसार अनैतिक गतिविधिमा संलग्न गराइएको भन्ने सूचनापछि अनुसन्धान अघि बढाइएको थियो। प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई पक्राउ गरेको जनाएको छ।

घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको छ।

प्रहरीले बालबालिकामाथि हुने कुनै पनि प्रकारका शोषण, दुर्व्यवहार तथा मानव बेचबिखनका गतिविधिविरुद्ध कडा निगरानी र कानुनी कारबाही जारी रहने जनाएको छ।