आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ मा बस्दै आएका झापा दमक नगरपालिका–२ घर भएका ३७ वर्षीय सागर गौतम, टोखा नगरपालिका–१ मा बस्दै आएका दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय सम्भु गौतम तथा काठमाडौं महानगरपालिका–२९ मा बस्दै आएका ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ३७ वर्षीय सनम गुरूङ रहेका छन् ।

प्रहरीका अनुसार सागर गौतमले युएई पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए । त्यसैगरी सम्भु गौतमले न्यूजिल्याण्ड पठाइदिने प्रलोभनमा एक पीडितबाट १५ लाख ९० हजार रुपैयाँ लिएको खुलेको छ ।

यस्तै सनम गुरूङले क्यानडा पठाइदिने भन्दै दुई जना पीडितबाट २४ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरीपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सागरलाई सोमबार टोखा–३ बाट तथा सम्भु र सनमलाई मंगलबार क्रमशः टोखा–२ र काठमाडौं–१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।