वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ, पीडितलाई न्याय दिलाउन प्रहरी सक्रिय
काठमाडौं, २४ वैशाख । वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । युवालाई आकर्षक तलबसहित विदेश पठाइदिने आश्वासन दिई ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले सक्रिय अनुसन्धान र कारबाही अघि बढाएको हो ।
पक्राउ पर्नेहरूमा राज कुमार तामाङ, प्रकाश केसी, डिल्लीमान तामाङ, श्रीहाङ एकतिन तथा नमुना भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले जापान, अमेरिका, दक्षिण कोरिया तथा मकाउ पठाइदिने भन्दै विभिन्न पीडितबाट ठूलो रकम असुलेर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु बाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धान अनुसार राज कुमार तामाङले जापान पठाइदिने भन्दै ११ लाख ५५ हजार रुपैयाँ, प्रकाश केसीले अमेरिका पठाइदिने भन्दै १२ जना पीडितबाट ९३ लाख रुपैयाँ, डिल्लीमान तामाङले जापान पठाइदिने भन्दै १४ लाख ७५ हजार रुपैयाँ, श्रीहाङ एकतिनले दक्षिण कोरिया पठाइदिने भन्दै १२ लाख २५ हजार रुपैयाँ तथा नमुना भण्डारीले मकाउ पठाइदिने भन्दै ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।
नेपाल प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न निरन्तर निगरानी र कारबाहीलाई तीव्र बनाएको बताउँदै विदेश जान चाहने नागरिकलाई आधिकारिक प्रक्रिया र विश्वसनीय संस्थामार्फत मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।



प्रतिकृया दिनुहोस्