नेपाली संगीतको आकाशमा गुञ्जिरहने स्वर: काठमाडौंमा भव्य रूपमा सम्झिइयो आशा भोस्लेलाई

नेपाली संगीतको आकाशमा गुञ्जिरहने स्वर: काठमाडौंमा भव्य रूपमा सम्झिइयो आशा भोस्लेलाई

काठमाडौं । नेपाली चलचित्रको पाश्र्व गायनमा अमेट छाप छोड्न सफल विश्वविख्यात गायिका आशा भोस्लेको सम्मानमा काठमाडौंमा एक भव्य श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नेपाल सांगीतिक संघसाधना कला केन्द्रको आयोजनामा बालुवाटारस्थित होटल डेलमोरमा आयोजित कार्यक्रममा संगीत क्षेत्रका दिग्गज व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम निकै आध्यात्मिक र भावपूर्ण ढंगले सम्पन्न भयो। लामा गुरुद्वारा विशेष पाठ गरिँदै १०८ शान्तिदीप प्रज्ज्वलन गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। उपस्थित सबैले उहाँको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका थिए।

आशा भोस्लेका ती जादुमयी गीतहरू बिना नेपाली संगीत अपुरो छ। कार्यक्रममा कलाकारहरूले उहाँका सदावहार गीतहरू गाएर माहोललाई सांगीतिक बनाएका थिए:

  • गैरी खेतको शीरै हान्यो

  • मोहनी लाग्ला है

  • पहाडको माथि माथि

  • एउटा मान्छे मन पर्छ

    दिग्गजहरूको स्मरण

  • मिलन मोक्तान (अध्यक्ष, नेपाल सांगीतिक संघ): “आशा भोस्ले नेपाली चलचित्र संगीतको एक बलियो खम्बा हुनुहुन्छ। उहाँले हाम्रा सयौं गीतलाई आफ्नो स्वर दिएर अमर बनाउनुभएको छ।”

  • दीपक जंगम (वरिष्ठ संगीतकार): “उहाँको स्वरमा एउटा छुट्टै जादु छ, जसले विश्वभरका संगीत प्रेमीलाई बाँधेको छ।”


 विश्व रेकर्ड र नेपालको सम्बन्ध

१२ हजारभन्दा बढी गीतमा स्वर दिएकी आशाले दर्जनौं भाषामा आफ्नो जादु छरिरहनुभएको छ। नेपालसँग उहाँको विशेष लगाव रहेको र विगतमा नेपाल सांगीतिक संघले उहाँको भव्य ‘सांगीतिक साँझ’ समेत सम्पन्न गरिसकेको छ। सोही गुन सम्झँदै संघले यो विशेष श्रद्धाञ्जली सभाको आयोजना गरेको हो।

उपस्थिति: कार्यक्रममा मदन सिंह नेपाली, राजु सिंह, वसन्त वित्यासी थापा, पवन गोले, नवराज मोक्तान, सीता केसी लगायत संगीत र कला क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


समाचार स्रोत: मिलन मोक्तान तस्बिर: अनिल श्रेष्ठ