निजामती कर्मचारीलाई खुसीको खबर: अब महिनामा दुई पटक तलब, सरकारले थाल्यो विशेष तयारी
काठमाडौं, सरकारले राष्ट्रसेवक कर्मचारीहरूको हित र अर्थतन्त्रलाई चलायमान बनाउन एक निकै सकारात्मक कदम चाल्ने तयारी गरेको छ। अब सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा मात्र होइन, हरेक १५/१५ दिनमै आफ्नो हातमा तलबभत्ता पाउने भएका छन्।
अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अर्थ मन्त्रालयले गत शुक्रबार नै यस सम्बन्धमा मन्त्रीस्तरीय निर्णय गरिसकेको छ। मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन आधिकारिक रूपमा परिपत्र समेत पठाइसकेको छ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले मन्त्रालयको निर्णय प्राप्त भएको पुष्टि गर्दै यसलाई चाँडै कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिनुभएको छ। “अर्थ मन्त्रालयबाट परिपत्र आइसकेको छ, हामी अब प्राविधिक र व्यवस्थापकीय तयारीमा छौँ,” उहाँले भन्नुभयो।
किन गरियो यस्तो तयारी? सरकारले कर्मचारीहरूको हातमा समयमै पैसा पुगोस् र उनीहरूको दैनिक गुजारा थप सहज होस् भन्ने उद्देश्यले यो निर्णय लिएको हो। बजारमा पैसाको निरन्तर प्रवाह हुँदा सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउन समेत यसले मद्दत पुग्ने सरकारको विश्वास छ।
ऐन संशोधनको प्रक्रिया अगाडि बढ्दै हालको कानुन अनुसार निजामती कर्मचारीले महिना भुक्तान भएपछि मात्र तलब पाउने व्यवस्था छ। यो नयाँ निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा आवश्यक संशोधन गर्नुपर्ने हुन्छ।
वर्तमान सरकारले ल्याउन लागेको नयाँ ‘संघीय निजामती सेवा ऐन’ मै १५-१५ दिनमा तलब खुवाउने कानुनी व्यवस्था समेट्न लागिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार ऐन पारित हुनेबित्तिकै यो व्यवस्था देशभर लागू हुनेछ।
कर्मचारी वृत्तमा उत्साह महिनाको अन्त्यसम्म खर्च धान्न मुस्किल हुने मध्यम र निम्न तहका कर्मचारीहरूका लागि यो निर्णय ‘वरदान’ सावित हुने देखिएको छ। सामाजिक सञ्जालमा यो समाचार सार्वजनिक भएसँगै कर्मचारीहरूले सरकारको यस कदमको स्वागत गर्न थालेका छन्।


प्रतिकृया दिनुहोस्