नवलपरासी, चितवन र रूपन्देहीसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

नवलपरासी, चितवन र रूपन्देहीसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

काठमाडौं, ६ वैशाख । देशका छुट्टाछुट्टै स्थानमा आइतबार र शनिबार गरी ६ जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। खोला, घर तथा बाँसघारीमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

खोला किनारमा दुई जनाको शव बरामद नवलपरासी (पूर्व) को मध्यविन्दु नगरपालिका–४ पनौती बस्ने ३६ वर्षीय कुलचन्द्र महतो आइतबार घर नजिकैको उल्टे खोलामा मृत फेला परेका छन्। त्यसैगरी, दाङको बंगलाचुली गाउँपालिका–८ सिम्ले बस्ने २० वर्षीया लिला कँवर मगर पनि घर नजिकैको घोस खोलामा मृत अवस्थामा फेला परेकी छिन्।

रूपन्देहीमा दुई जना मृत फेला रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा दुई छुट्टाछुट्टै स्थानमा शव फेला परेका छन्। बिपिमार्गमा डेरा गरी बस्ने स्याङ्जाकी २९ वर्षीया ज्योती भुजेल आफ्नै कोठामा मृत फेला परेकी छिन्। यस्तै, सोही नगरपालिकाको सुनौलोनगर बस्ने ४० वर्षीय कमल नेपाली पनि आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

मकवानपुर र चितवनमा पनि शव फेला मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ थाखेलडाँडाका ५० वर्षीय चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत फेला परेका छन्। उता, चितवनको माडी नगरपालिका–१ द्रोपतिनगरस्थित बाँसघारीमा अन्दाजी ३४ वर्षीय पुरुषको शव भेटिएको छ। मृत फेला परेका ती पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।

फेला परेका सबै शवहरूको मुचुल्का उठाई परीक्षणका लागि पठाइएको र घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।