ललितपुरमा ७९ लाखको गहना चोरी प्रकरण: मुख्य अभियुक्तसहित सुन पसले पक्राउ
ललितपुर, ललितपुरको बागडोलमा भएको ठूलो परिमाणको सुन तथा चाँदीका गरगहना चोरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चोरीमा संलग्न मुख्य अभियुक्त र चोरीको सामान खरिद गर्ने सुन पसलका सञ्चालक रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमन देउलालाई पक्राउ गरेको हो। देउलालाई ललितपुर महानगरपालिका–४ बाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा चोरी भएका गहनाहरू खरिद गरी गाल्ने कार्यमा संलग्न अर्का व्यक्ति पनि पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–२३ स्थित ‘अर्पिता ज्वेलर्स’का सञ्चालक ४७ वर्षीय स्वपन चक्रवर्तीलाई प्रहरीले उनकै पसलबाट पक्राउ गरेको हो। भारतको पश्चिम बंगाल घर भएका चक्रवर्तीले चोरीको सुन खरिद गर्ने गरेको खुलेको छ।
गत चैत २६ गते दिउँसो ललितपुर महानगरपालिका–४ बागडोलस्थित एक घरबाट करिब ७९ लाख १२ हजार ५ सय २ रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना चोरी भएको थियो। घटना भए लगत्तै प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले स्वपन चक्रवर्तीको पसलबाट सुन तथा चाँदी जस्तो देखिने विभिन्न गरगहनाहरू समेत बरामद गरेको छ। बरामद गरिएका सामग्रीहरू चोरीकै हुन् वा अन्य हुन् भन्नेबारे थप परीक्षण भइरहेको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।


प्रतिकृया दिनुहोस्