“११औँ महाधिवेशनपछि एमाले पुनः शक्तिशाली: ओली भन्छन्— प्रतिगमनको खेल समाप्त”
काठमाडौं, पुस २६ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय महाधिवेशनले पार्टी मात्र होइन, समग्र नेपाली लोकतन्त्रलाई नयाँ भरोसा, आत्मबल र दिशा दिएको दाबी गर्नुभएको छ। शनिबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिकूल राजनीतिक परिस्थितिका बीच सम्पन्न महाधिवेशनले प्रतिगमनकारी र अराजक शक्तिलाई स्पष्ट र कडा सन्देश दिएको बताउनुभयो।
मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न महाधिवेशनलाई सामान्य पार्टीगत प्रक्रिया भन्दा धेरै माथि राख्दै ओलीले यसलाई राष्ट्रिय राजनीतिमा सकारात्मक मोड ल्याउने ऐतिहासिक घटनाको संज्ञा दिनुभयो।
“सामान्यतया महाधिवेशन पार्टीको आन्तरिक विषय हो, तर जुन समय, परिस्थिति र सन्देशका साथ यो सम्पन्न भयो, त्यसले समग्र राष्ट्रिय राजनीतिलाई नै प्रभावित गर्यो,” ओलीको भनाइ थियो।
भदौ २३–२४ का घटनापछि असामान्य अवस्थाबाट पुनरुत्थान
अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनापछि मुलुक असामान्य अवस्थामा पुगेको स्मरण गर्दै योजनाबद्ध रूपमा हिंसा, दहन, लुटपाट र विध्वंस मच्चाइएको आरोप लगाउनुभयो।
“एकै दिन कार्यपालिका, विधायिका र न्यायपालिकामाथि आक्रमण भयो। राष्ट्रपति भवनदेखि वडा कार्यालयसम्म, सुरक्षा निकायदेखि मिडिया हाउससम्म, दलका कार्यालयदेखि निजी सम्पत्तिसम्म विध्वंस गरियो,” ओलीले भन्नुभयो।
उहाँका अनुसार ती घटनाहरू लोकतन्त्र समाप्त पार्ने, संविधान असफल बनाउने र देशलाई दशकौँ पछाडि धकेल्ने नियोजित षड्यन्त्रको अंश थिए।
‘लोकतन्त्र असफल भयो’ भन्ने भ्रम चिरियो
अध्यक्ष ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रणाली र स्थापित दलहरूविरुद्ध योजनाबद्ध घृणा फैलाइएको, विध्वंसलाई ‘विद्रोह’ को नाममा महिमामण्डन गरिएको र समाजलाई ‘नयाँ’ र ‘पुरानो’ को खतरनाक विभाजनतर्फ धकेल्ने प्रयास भएको उल्लेख गर्नुभयो।
“पुराना दल सकिए, लोकतन्त्र असफल भयो भन्ने नकारात्मक भाष्य निर्माण गरियो,” उहाँले भन्नुभयो।
तर, यही पृष्ठभूमिमा सम्पन्न एमालेको ११औँ महाधिवेशनले त्यो भ्रमलाई चकनाचुर पारिदिएको ओलीको दाबी छ।
तीन महिनामै उठेको एमाले, लाखौँको जनसागर
भदौका घटनामा सबैभन्दा ठूलो क्षति एमालेले व्यहोरेको उल्लेख गर्दै ओलीले पार्टी सत्ताबाट विस्थापित हुनुका साथै केन्द्रीय कार्यालयसहित ६४ भन्दा बढी कार्यालय ध्वस्त, करिब २०० नेता–कार्यकर्ताको घर दहन र लुटपाट भएको जानकारी दिनुभयो।
“यति ठूलो धक्का खाएर पनि तीन महिनामै पार्टी उठ्नु, आधारभूत तहसम्म चलायमान हुनु र देशभर लोकतन्त्रको रक्षाका लागि सडकमा उत्रिनु सामान्य कुरा होइन,” ओलीले भन्नुभयो।
भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्रका क्रममा लाखौँ जनताको उपस्थिति ले एमाले मात्र होइन, लोकतन्त्रको रक्षाकवच जनतै भएको सन्देश दिएको उहाँको भनाइ थियो।
‘प्रतिगमनको चक्का रोकियो’
महाधिवेशनको मुख्य सन्देश प्रष्ट रहेको ओलीले दोहोर्याउनुभयो—
“प्रतिगमनको चक्कामा ब्रेक लागेको छ। अराजक र देशद्रोही शक्तिको मनोबल खस्किएको छ।”
उहाँका अनुसार महाधिवेशनले नेतृत्वको वैधता, स्वीकार्यता र आन्तरिक लोकतन्त्रको प्रश्न विधिसम्मत् ढङ्गले समाधान गरेको छ। नवपुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्दै पुस्तान्तरण व्यवहारमै अघि बढाइएको उहाँको दाबी छ।
अब एमालेको बाटो: एकता, गति र अग्रगमन
अन्त्यमा अध्यक्ष ओलीले पार्टी पङ्क्तिलाई स्पष्ट सन्देश दिँदै भन्नुभयो—
“अब पछाडि फर्कने होइन, अग्रगतिमा लाग्ने हो। समाधान भइसकेका विषय दोहोर्याएर अल्झिनु हुँदैन।”
उहाँका अनुसार एमाले अब गहिरो समझदारी, सुदृढ एकता र राष्ट्रिय जिम्मेवारीका साथ अघि बढ्नेछ — लोकतन्त्र, राष्ट्रियता, सुशासन र विकासको बलियो आधार बनेर।



प्रतिकृया दिनुहोस्